पोखरामा हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनका लागि विदेशी लगानी हुने
2024-02-18 15:46:05CRI
Share with:

पोखरा महानगरमा हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनका लागि करिब डेढ अर्ब विदेशी लगानी हुने भएको छ । पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् यो परियोजना चलाउन कोइकाले एक अर्ब ३० करोड र युएनडिपीले साढे ११ करोड लगानी गर्ने भएका हुन् । 

परियोजनाबारे पोखरामा शुक्रबार सरोकारवालाबिच छलफल भएको छ । यो परियोजनाले रिसाइकल र अपसाइकलमार्फत् नयाँ सामग्रीहरू उत्पादन गर्ने छ । यो परियोजनालाई सिकाई केन्द्र र पर्यटकीय गन्तव्यका रूपमा समेत विकास गरिने महानगर प्रमुख धनराज आचार्य बताउनुहुन्छ ।

“यो परियोजनाले युवालाई रोजगारीसँग जोड्नेछ । सँगसँगै हरित अर्थतन्त्रको विकासमा विशेष योगदान गर्ने छ,” उहाँ भन्नुहुन्छ । हरित रोजगारी सृजना गर्दै युवालाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना सहयोगी साबित हुने उहाँको विश्वास छ । 

परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता भइसकेको छ । परियोजनाले महानगरपालिकाका कर्मचारी, सरोकारवाला र उद्यमीहरूको क्षमता बढाउँदै हरित रोजगारी सिर्जना गर्न सहयोग गर्ने छ ।

परियोजनाले ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्ने र नयाँ तथा आयु उद्यमीलाई व्यवसाय इन्क्युबेसन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्ने जनाइएको छ। दिगो रिसाइकल र अपसाइकलमार्फत हरित रोजगारी सृजना आम समुदायका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। गोरखापत्र।