सुधार हुँदै निर्यात, ६ महिनामा सात अर्बको निकासी
2024-02-18 15:40:48CRI
Share with:

भैरहवास्थित बेलहिया नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा झण्डै सात अर्ब रुपियाँको निकासी भएको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा निर्यातमा राम्रो सुधार आएको हो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ अर्ब ९२ करोड रुपियाँ बराबरको निकासी भएको भैरहवा भन्सार कार्यालयबाट दुई अर्ब नौ करोडको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको गोरखापत्र अनलाइनले जनाएको छ। 

भन्सार कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्म ७५ करोड २२ लाख रुपियाँको एक लाख ३३ हजार टन सिमेन्ट तथा ६८ करोड ४३ लाखको एक लाख २० हजार टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको छ । केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिंकरको आयात प्रतिस्थापन गर्दै अहिले धमाधम रुपमा निकासी हुन थालेको हो । 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले गत आर्थिक वर्षको तुलनामा निर्यातमा सुधार आएको बताउनुभयो । भन्सार प्रमुख गौतमका अनुसार भैरहवा भन्सार कार्यालयबाट निर्यात भएका वस्तुमध्ये १० वटा वस्तुबाट मात्र चार अर्ब ८५ करोडको निर्यात भएको छ । 

बेलहिया नाका हुँदै सबैभन्दा बढी निकासी हुने वस्तुमा सेन्थेटिक यार्न रहेको छ । यार्न भारत तथा टर्की निकासी हुने गरेको छ । त्यसैगरी यो नाका हुँदै विभिन्न वनस्पति उत्पादन, पीना, अदुवा, सुठोलगायत जडिबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर भुससमेत निकासी भइरहेको छ । 

भन्सार कार्यालय भैरहवाबाट एक अर्ब ५० करोडको सेन्थेटिक यार्न, ३८ करोड ४४ लाखको वनस्पति उत्पादन, ३३ करोड आठ लाखको पिना, २४ करोड ५४ लाखको अदुवा, सुठो तथा २३ अर्ब ३२ करोडको चाउचाउ, नुडल्स, पास्तालगायतका वस्तु भारत तथा तेस्रो मुलुक निर्यात भएको छ । 

भैरहवा भन्सारबाट २० करोड ३१ लाखको प्लाईउड निर्यात भएको छ भने चार अर्ब ८५ करोडको चोकर र भुस निर्यात भएको छ । आर्थिक वर्ष २०७९–८० मा ३१ करोड ८६ लाखको सिमेन्ट निकासी भएकोमा चालु वर्षको ६ महिनामै दोब्बर निकासी भएको तथ्यांकले देखाएको छ । 

बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारत निकासी हुँदैआएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सिमेन्टको आन्तरिक खपत कम भइरहेका बेला भारत निकासीमा देखिएको सुधारले उद्योगी तथा व्यवसायीमा सकारात्मक सन्देश दिएको बताउनुभयो । 

अध्यक्ष श्रेष्ठका अनुसार निर्यातजन्य वस्तुमा दिने भनिएको सेवासुविधा र सहुलियत लगायतका विषयमा सरकारले कार्यान्वयन गर्ने विश्वास छ ।

भारतीय बजारमा देखिएको नेपाली वस्तुको प्रचार–प्रसारले हामीलाई निकै उत्साहित बनाएको छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘सरकारले निर्यात प्रवर्धनमा टेवा पुग्नेखालका नीति निर्माणमा जोड दिनुपर्छ।’