४ करोड ४३ लाखको आयोजना हस्तान्तरण
2024-02-19 18:25:56cri
Share with:

निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मितिभन्दा १ वर्ष ७ महिना अघि विद्यालयको २४ कोठे सुविधा सम्पन्न भवन हस्तान्तरण गर्ने निर्माण कम्पनीलाई मोरङको कानेपोखरी गाउँपालिकाले सम्मान गरेको छ। मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माविको नमुना विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका अवसरमा निर्माण कम्पनीका सञ्चालक सन्तबहादुर राईलाई सम्मान गरिएको गोरखापत्र अनलाइनले लेखेको छ। 

सङ्घीय सरकारको नमुना विद्यालय भवन निर्माण कार्यक्रम अन्तर्गत जनसेवा माध्यमिक विद्यालयको भवन सारा सृष्टि निर्माण सेवा प्रालिले निर्माणको जिम्मा लिएको थियो। २०७५ जेठ २६ मा सम्झौता भई २०८३ असार १५ गते हस्तान्तरण गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले करिब १ वर्ष ७ महिना अगावै भवन विद्यालयलाई हस्तान्तरण गरेको हो। 

देशभर निर्माण कम्पनी काम नगरेर समय थपिरहेका समाचारहरू आइरहेका बेला सारा सृष्टि निर्माणका प्रोप्राइटर सन्तबहादुर राईलाई समय अगावै काम सम्पन्न गरेकोमा प्रोत्साहनस्वरुप सम्मान गर्न पाउँदा गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले खुसी प्रकट गर्नुभयो। 

सङ्घीय सरकारको ४ करोड ३४ लाख ४३ हजार ६७ रुपियाँमा निर्माण सम्पन्न भएको सुविधा सम्पन्न ३ तले भवन विद्यालयमा २४ कोठा रहेका छन्। भवन उद्घाटन कार्यक्रममा अध्यक्ष इङ्नामले सारा सृष्टि निर्माण सेवाले जसरी नै काम गरे देशको कुनै पनि आयोजना समस्या नपर्ने बताउनुभयो।