‘अभ्यास शान्ति प्रयास’ को तालिममा नेपालसहित १९ देशका सैनिक सहभागी हुँदै
2024-02-20 17:11:14cri
Share with:

नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा फेब्रुअरी २० तारिख मंगलबारदेखि बहुराष्ट्रिय सैनिक कार्यक्रम हुँदै छ । सन् २००० देखि सुरु भएको उक्त अभ्यास कार्यक्रम यस पटक फागुन ८ देखि २१ सम्म हुनेछ । संयुक्त राष्ट्रसंघ (यूएन) मार्फत शान्ति स्थापनार्थ सहभागी हुने फौजको पेसागत दक्षता र आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले उक्त बहुराष्ट्रिय अभ्यास हुन लागेको कान्तिपुर अनलाइनले लेखेको छ । 

यो संस्करणमा ५ महादेशका नेपालसहित १९ मुलुक सहभागी छन् । नेपाली सेनाका अनुसार एसिया महादेशबाट नेपालसहित बंगलादेश, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया, मंगोलिया, श्रीलंका, थाइल्यान्ड, दक्षिण कोरिया, पाकिस्तान, भियतनाम र भारत सहभागी छन् । यस्तै, उत्तर अमेरिका महादेशका अमेरिका र क्यानडा सहभागी छन् । दक्षिण अमेरिकाबाट उरुग्वेको सेना सहभागी हुनेछ । अस्ट्रेलिया/ओसियाना महादेशबाट अस्ट्रेलिया र फिजीको सहभागिता छ । अफ्रिकी महादेशबाट घाना र नाइजेरियाका सैनिक अभ्यासमा भाग लिन आउँदै छन् ।

यस पटक नेपाली सेनाका दुई तथा अन्य देशका १० गरी १२ प्लाटुनका ६८९, स्टाफ ट्रेनिक कार्यक्रममा नेपाली सेनाका ३१ र विदेशी सेनाका ७९ गरी ११० तथा क्रिटिकल एन्ड क्यापाविलिटी इन्हेन्समेन्टमा नेपाली सेनाका २६९ र विदेशी सेनाका ५७ जना गरी जम्मा ३२६ सहभागी छन् ।

कुल ११ सय २५ जनाको सहभागिता रहनेछ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले उक्त बहुपक्षीय अभ्यासको उद्देश्य शान्ति कार्यसम्बन्धी उत्कृष्ट अभ्यास तथा ज्ञान आदानप्रदान गर्ने रहेको उल्लेख गर्नुभयो। ‘संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूबीच सहयोग र सहकार्य विस्तार गर्ने काम अभ्यासले गर्नेछ,’ उहाँले भन्नुभयो, ‘शान्ति मिसनमा सैनिक घटाउने मुलुकहरूबीचको सहकार्य र घुलमिल राम्रो होस् भन्ने पनि यो अभ्यासको उद्देश्य हो ।’

अभ्यासका मुख्य कार्यक्रमहरूमा फिल्डमा प्रशिक्षण कार्यक्रमहरू, स्टाफ प्रशिक्षण तथा क्षमता वृद्धिका लागि ध्यान दिइने सेनाले जनाएको छ । नेपाल अहिले शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने सूचीमा पहिलो नम्बरमा छ । यही अवसरमा हुन लागेको चौथो संस्करणको अभ्यास शान्ति प्रयास महत्त्वपूर्ण मानिएको छ ।

अमेरिकाको ग्लोबल पिस अपरेसन इनिसियटिभको सहयोगमा सञ्चालन हुने अभ्यास कार्यक्रमको तयारी पूरा भइसकेको सेनाले जनाएको छ । कार्यक्रममा सहभागी हुन ग्लोबल पिसका प्रतिनिधि पनि नेपाल आउँदै छन् । सन् २००० मा नेपालमा पहिलो पटक शान्ति प्रयास सैन्य अभ्यास भएको थियो । उक्त अवसरमा नेपाल, बंगलादेश, श्रीलंका र अमेरिकी सैनिकहरू सम्मिलित थिए । दोस्रो संस्करण सन् २०१३ मा भएको थियो । जसमा २३ मुलुकका ८५० सैनिक उपस्थित थिए । तेस्रो संस्करणमा भने सबैभन्दा बढी २९ मुलुकका ११ सय ३५ जना सैनिकहरू सहभागी थिए ।

अवकाश प्राप्त उपरथी पूर्ण सिलवाल उक्त अभ्यास तत्कालीन प्रधानसेनापति प्रज्वलशमशेर राणाको कार्यकालबाट सुरु भएको उल्लेख गर्दै यसले शान्ति सैनिक पठाउने मुलुकका सेनाहरूबीचको सहकार्यलाई बलियो बनाउने मान्छन् । ‘संसारभरबाट जम्मा भएका १९ मुलुकका सैनिकहरूलाई नेपालमा ल्याएर शान्ति स्थापनार्थ सहकार्यका लागि संयुक्त अभ्यास गराउनु नेपालको ठूलो उपलब्धि हो । यसले सैनिकहरूको बहुपक्षीय सहकार्यलाई मद्दत गर्छ,’ उहाँले भन्नुभयो, ‘यो अभ्यास कार्यक्रममा शान्ति मिसनमा सेनामा भाग लिने देशहरूका सैनिकहरू सहभागी हुन्छन् र शान्ति स्थापनार्थ आउने चुनौतीहरूलाई कसरी मिलेर समाधान गर्ने भनेर प्रशिक्षण लिन्छन् ।’