नेपाल र चीनलाई जोड्न सफल भयो तमोर कोरिडर
2024-02-22 17:38:01cri
Share with:

निर्माणाधीन तमोर कोरिडोर सडकले नेपालको छिमेकी देश चीनलाई जोडेको छ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो। तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको गोरखापत्र अनलाइनले लेखेको छ। 

तमोर कोरिडोर अन्तर्गत लेलेप–ओलाङ्चुङगोला सडक खण्डको जङ्गिन नजिकको क्षेत्रमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार साँझ सम्पन्न भएको हो। कोरिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्र्याक निर्माणको काम सुरु भएको थियो। कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्र्याक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो।

निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत (साइड इन्चार्ज) राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिपतालालाई सडकले जोडेको छ। उहाँका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलदेखि ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दुरी बराबर ट्र्याक निर्माणको काम गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो। उत्तर दक्षिण (सुभाङ खोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्र्यालयमार्फत ट्र्याक निर्माणको काम भइरहेको छ। लेलेप–ओलाङ्चुङगोला खण्डमा ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पाँचथरको सुभाङ खोलादेखि टिपतालासम्म १२१ किलोमिटर सडकको ट्र्याक जोडिएको योजना कार्यालयले जनाएको छ। 

यता ट्र्याक निर्माण भइसकेपछि तिब्बतसँगको सिमाना टिपतालासम्म तमोर कोरिडोरमा तत्काल यातायात सञ्चालन हुने अवस्था भने नभएको बताइएको छ। ट्र्याक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब ४२ किलोमिटर दुरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनर्निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो। टिपतालादेखि ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म गोलाका स्थानीयले रकम सङ्कलन गरी ट्र्याक निर्माण गरेका थिए। नयाँ र पुरानो ट्र्याक जोडिएको ठाउँदेखि जङ्गिन हुँदै ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिपतालासम्म सडक मर्मत तथा पुनर्निर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ। 

निर्माण कम्पनी एलाइट जेभीका प्रमुख सम्पर्क व्यक्ति पेम्बाठिले शेर्पाले भने आउँदो नयाँ वर्ष मनाउन सवारीसाधनमार्फत टिपताला पुग्नेगरी मर्मत तथा पुनर्निर्माणको काम हुने बताउनुभयो। अब ओलाङ्चुङगोला बस्तीसम्म यातायात सञ्चालन हुने स्तरको  सडक निर्माण गर्न करिब एक महिना लाग्ने र ओलाङ्चुङगोलादेखि टिपतालासम्म अर्को एक महिना लाग्न सक्ने उहाँको भनाइ छ। चैत मसान्त अगावै ट्र्याक मर्मत तथा पुनर्निर्माण गरिसक्ने गरी काम सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो।

हाल सदरमुकाम फुङ्लिङदेखि ६८ किलोमिटर दुरी रहेको सुकेपानीसम्म यातायातका साधान सञ्चालन हुँदै आएका छन्। सुकेपानीदेखि टिपतालासम्म भने ट्र्याक मर्मतका साथै पुनर्निर्माणको काम सम्पन्न भएपछि हिउँद मौसमभर यातायात सञ्चालन हुन सक्ने बताइएको छ। बर्खा मौसममा भने तमोर नदीसहित दर्जनौँ अन्य साना ठुला खोलामा पुल आवश्यक पर्ने भएकाले मोटर गुढ्ने पुल निर्माण नभएसम्म यातायात सञ्चालन नहुने सडक योजनाले जनाएको छ। 

तमोर कोरिडोरलाई नेपाल, भारत र चीन जोड्ने सडक भएकाले त्रिदेशीय सडक मार्ग पनि भन्ने गरिएको छ। भारतसँगको सिमाना विराटनगरको रानीदेखि धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दूरी २९९ किलोमिटर रहेको बताइएको छ। 

कोरिडोर सडक अन्तर्गत रानीदेखि मूलघाटसम्म कालोपत्रे भइसकेको र मूलघाटदेखि सुभाङखोलासम्म कालोपत्रे निर्माणको क्रम जारी रहेको छ। बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर अघि बढ्ने उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाले जनाएको छ।