पोखराका ताल र खोलामा नयाँ मापदण्ड
2024-02-22 17:39:48cri
Share with:

पोखरा महानगरले भवन, पूर्वाधार, खोला, खोल्साको नयाँ मापदण्ड सार्वजनिक गरेको छ।  आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ सार्वजनिक गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

नयाँ मापदण्डले सामान्य आवासीय भवन थप अग्लो बनाउन अनुमति दिएको छ। अब पोखरामा पाँच तलासम्मका भवन निर्माण गर्दा माटो परीक्षण गर्नुपर्ने छैन। पोखरा महानगरको १३ औँ कार्यपालिका बैठकले नयाँ मापदण्ड पास गरेको थियो। पोखरामा यसअघि तीन तलासम्मका मात्र भवन बनाउन पाइने मापदण्ड थियो।

युरोपियन युनियनको आर्थिक सहयोगमा यो मापदण्ड बनेको हो। “१७ मिटर वा ५५ फिटसम्मका संरचनाका लागि माटो परीक्षण गर्नु पर्दैन,’ महानगरका घर नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले भन्नुभयो, ‘त्यसभन्दा अग्ला संरचना निर्माणका लागि माटो परीक्षण गरी त्यसको अवस्था अनुसार अनुमति दिन्छौँ।”

पुरानो मापदण्डमा अग्ला भवन बनाउन नपाइने भए पनि पहिला मापदण्ड बमोजिम स्वीकृति लिएर पछि थप अग्ला संरचना बन्दै आएका छन्। अहिले महानगरमा १० तलाभन्दा अग्ला भवन १९ वटा रहेको महानगर तथ्याङ्क छ। 

औद्योगिक, शैक्षिक, सिनेमा घर, पार्टी प्यालेस जस्ता भिड ठाउँमा लम्बाइ अनुसार त्यसको चौडाइको मापदण्ड तोकिएको छ। सय मिटरसम्म लामा संरचनामा छ मिटरको प्रवेश स्थल हुनुपर्ने मापदण्ड छ भने दुई सय मिटर लामा पूर्वाधारमा आठ मिटरको प्रवेश स्थल हुनुपर्छ। यस्ता भिडभाड हुने ठाउँ चार सय र सय सय मिटर लामो हुँदा त्यसको प्रवेश माध्यमको चौडाइ क्रमशः ११ मिटर र १४ मिटर हुनुपर्छ। छ सय मिटरभन्दा लामा यस्ता पूर्वाधारमा प्रवेश त्यसको चौडाइ २२ मिटर हुनुपर्छ। 

फेवातालसहित अन्य तालको मापदण्ड सर्वोच्च अदालतको आदेश अनुसार तय गरिएको छ। फेवातालको मापदण्ड ताल किनारबाट ६५ मिटर छ। बेगनास र रुपातालको एक सय मिटर र बाँकी तालमा किनारबाट ५० मिटर मापदण्ड तोकिएको छ। महानगरमा रहेका अरू साना पोखरीको वरिपरि किनारबाट छ मिटर मापदण्ड तोकिएको छ।

डिल, भीर, पहिरो छेउमा निर्माणका लागि त्यसको उचाइ अनुसार सेट ब्याकको व्यवस्था छ। पाँच मिटरसम्मका अग्ला डिल, भीर पहिरोमा दुई मिटर सेट ब्याक राख्नुपर्ने छ भने पाँच देखि १० मिटरसम्म तीन मिटर र १० देखि १५ मिटरसम्मका लागि पाँच मिटर सेट ब्याक तोकिएको छ। 

यसै गरी, १५ देखि २० मिटर अग्ला डिल, भीर, पहिरोको सेट ब्याक साढे सात मिटर र २० मिटरभन्दा आग्लामा १० मिटर सेट ब्याक तोकिएको छ। 

नयाँ मापदण्डले पोखरा महानगर हुँदै बग्ने सबै खोला र नदीको मापदण्ड बनाएको छ। सेती नदी र मर्दी, मर्दी, सुरौदी, काली, पुँडी र हर्पनखोलाको मापदण्ड ३० मिटर तोकिएको छ। याम्दी र सुइखेतखोलाको मापदण्ड १७ मिटर बनाइएको छ। फिर्के र बुलौदी खोलामा पूर्वाधार बनाउँदा छ मिटर छाड्नुपर्ने भएको छ भने बगादीखोला, बेगनासताल खोला र तालखोला छेउमा भवन तथा अन्य पूर्वाधार बनाउँदा सात मिटर छाड्नुपर्ने भएको छ। 

यसै गरी, भलामखोला र काहुँखोलाको १० मिटर र पार्दी खोलाको साढे १२ मिटर मापदण्ड निर्धारण भएको छ। पोखरा महानगरभित्रका अरू सबै सामान्य खोल्सानजिक छ मिटर मापदण्ड छाडेर भवन निर्माण गर्नुपर्ने भएको छ। 

महानगरका प्रमुख आचार्यले नयाँ मापदण्डबारे जानकारी दिँदै कार्यान्वयन प्रक्रियामा जाने उल्लेख गर्नुभयो। “नयाँ मापदण्डबारे पहिला अवारनेस दिन्छौँ, त्यसपछि कार्यान्वयनमा जान्छौँ,” उहाँले भन्नुभयो।  

कार्यक्रममा युरोपियन युनियनका रञ्जनप्रकाश श्रेष्ठले नयाँ मापदण्डको स्वामित्व लिएर महानगरले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद दिनुभयो। यही कार्यक्रमबाट पोखरा महानगरसँग सहकार्य सुरु भएको उहाँको भनाइ छ।