राहुघाटको जलविद्युत् आयोजनाको मुख्य सुरुङको 'ब्रेकथ्रु'
2024-02-22 17:38:35cri
Share with:

म्याग्दीको रघुगंगा गाउँपालिका, ३ पिप्लेमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेड प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले मुख्य टनेलको ब्रेक थ्रु गरेको छ। रघुगंगा हाइड्रो लिमिटेडले दिएको विवरणअनुसार बुधबार साँझ ५.५० बजे रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले स्विच थिचेर अन्तिम विस्फोट नगरी टनेलको पहिलो च्यानेजको (अडिट २ पिप्लेदेखि अडिट ३ घट्टेखोला)सम्मको खण्ड ब्रेकथ्रु गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। अब पूरै टनेल ब्रेकथ्रु हुन दोस्रो च्यानेलको (अडिट १ हेडवर्क्सदेखि अडिट २ घट्टेखोलासम्म) ब्रेकथ्रु हुन ३ सय ७२ मिटर र पावरहाउसदेखि माथि सर्साफसम्म ५६ मिटर गरी ४ सय २८ मिटर बाँकी रहेको छ।

कुल ६ हजार २ सय ७० मिटर लामो टनेलमध्ये ५ हजार ८ सय ४२ मिटर टनेल खनिएको छ। ‘टनेललाई विभिन्न प्याकेज बनाई फरक–फरक अडिटबाट खन्ने काम गरिएकोमा सबैभन्दा लामो खण्डमा टनेलको ब्रेकथ्रु भएको छ। माटोको भाग बढी भएको रिस्की क्षेत्रको टनेल भएकोले यस च्यानेजको टनेल ब्रेकथ्रु हुनु हाम्रा लागि ठूलो उपलब्ध मानेका छौं,’ रघुगंगा हाइड्रो लिमिटेडका सिभिल महाशाखा प्रमुख रवीन कट्टेलले भन्नुभयो, ‘आयोजनाले ०८१ वैशाखभित्रका सबै टनेल ब्रेकथ्रु गर्ने लक्ष्य राखेका छौं।’

आयोजनाले टनेल पूरा भएका प्याकेजमा कंक्रिट लाइनिङ गर्ने, पेनस्टक राख्ने र पावरहाउसमा टर्बाइन राख्ने क्षेत्रको काम पनि एकसाथ सुरु भइरहेको जनाएको छ। आयोजनाले रिभर डाइभर्सन र पावरहाउसभित्रको डिस्टिब्युटर्स पाइपको हाइड्रोस्टेटिक प्रेसर टेस्टिङ पनि सफल भएको जनाएको छ। पावरहाउसमा रहने दुईवटा टर्बाइनमध्ये एउटा टर्बाइन घुमाउन ६ वटा नोडल भएको वितरण पाइपको परीक्षण गरिएको हो। त्यस्तै पावरहाउसदेखि सर्साफसम्म ८ सय ११ मिटर स्लोप र १ सय ९६ मिटर भर्टिकल टनेलमा पेनस्टक पाइप राख्ने काम पनि सुरु भएको छ।

अर्धजलाशययुक्त आयोजनाबाट सुख्खा मौसममा ४ करोड ९९ लाख ७८ हजार र बर्खामा २४ करोड ५ लाख ९३ हजार युनिट प्रतिघण्टा बिजुली उत्पादन हुने आयोजनाको भनाइ छ। ‘आयोजनाको भौतिक प्रगति ७१ प्रतिशत र वित्तीय प्रगती ५५ प्रतिशत रहेको छ। पावरहाउसमा टर्बाइन र जेनेरेटरमध्य एक–एक वटा आइसक्यो, टर्बाइन घुमाउने पाइपलाइन जडान र परीक्षण भइरहेको छ। स्विच आर्डको काम सकियो,’ रघुगंगा हाइड्रो लिमिटेडका इलेक्ट्रोमेकानिकल प्रमुख सञ्जय पाठकले भन्नुभयो, ‘आयोजनाको कामले राम्रो गति लिइरहेको बेला हामीलाई नदीजन्य पदार्थको समस्या सामना गर्नु परेको छ।’