कोरिडोरको प्रवेश द्वार मर्मत
2024-02-23 16:53:49cri
Share with:

कर्णाली कोरिडोरको प्रवेशद्वार खुलालु पुलको ओरालो सडक मर्मत गरिएको छ। खुलालुमा कर्णाली नदीमाथि बनेको पक्की पुलको दायाँ पट्टीको सडकको मर्मतको काम सम्पन्न भएको हो। पुलमा प्रवेश गर्ने ओरालो सडक जोखिम भएका कारणले यस अघि आउजाउ गर्न निकै समस्या रहेको गोरखापत्र अनलाइनले लेखेको छ। 

अहिले उक्त सडक मर्मत भएपछि यातायातका साधन चलाउन सहज भएको छ। कोरिडोर सञ्चालनमा आए पनि उक्त ओरालो सडक मर्मत नहुँदा यातायातका साधनलाई निकै जोखिममा हुने गरेको थियो। पछिल्लो समयमा सडक डिभिजन कार्यालय जुम्लाले यो सडक मर्मत गरेपछि यात्रा सहज भएको छ। कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ८ मा पर्ने खुलालुमा शिलान्यास भएको १४ वर्षपछि खुलालुमा पक्की पुल बनेपछि हुम्ला कर्णाली कोरिडोर सुचारु भएको थियो। दैनिक सञ्चालनमा आउने सवारी साधन पुलको दायाँ क्षेत्रमा रहेको ओरालो सडक जोखिमका कारणले घण्टौँ सास्ती पाउने गरेका थिए। 

सुरुमा सडक डिभिजन कार्यालय हुम्लाले ठेक्का लगाउने की जुम्लाले लगाउने भन्ने विवाद थियो। पछिल्लो समय सडक डिभिजन कार्यालय जुम्लाले ठेक्का खोलेपछि निमार्ण कम्पनीले समयमै काम गरेकाले निमार्ण सुरु भएको छोटो समयमा जोखिम सडक मर्मत भएको हो। सडकको तीन सय मिटर पुरै आरसिसी गरिएको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जोखिम सडक पछि सम्म जीर्ण नहोस् भनेर आरसिसी ढलान गरिएको बताउनुभयो। उहाँले धेरै पटक ठेक्का खोल्दा पनि कुनै पनि निमार्ण व्यवसायीले प्रस्तावना पेस नगरेका कारणले ढिलो भयो। केही मर्मतका कोटेसन दिएर पनि गरियो। 

तर निकै जोखिम सडक डबल कटान र आरसिसी गर्नु पर्ने भएकाले फेरी ठेक्का लगाएर बल्ल भने अनुसारको सडक बनेको बताउनुभयो। कार्यालय प्रमुख विष्टले न्यून बजेट विनियोजन, निर्माण व्यवसायीले बिल पेस गरेको समयमा भुक्तानी गर्न नसकिनु, कठिन भूगोल, स्रोत साधनको अभाव इत्यादि चुनौतीहरूका बिच यो सडक सुधार भएको प्रति आफू निकै खुसी भएको सुनाउनुभयो। सडक मर्मतको जिम्मा लिएको हरि, सागर, रेग्मी जेभिका प्रतिनिधि रूपक आचार्यले जम्मा भ्याट सहित चार करोड ६१ लाख ९० हजारमा काम सम्पन्न गरेको बताउनुभयो। 

उहाँले गत साउन १० गते ठेक्का सम्झौता भएको र सम्पन्न गर्नु पर्ने आगामी २०८१ साल असार ३०मा भए पनि फागुनमै काम सकेर कार्यालयलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो। कोरिडोरमा लामो समय गाडी चलाउँदै आएका चालक महेश न्यौपानेले खुलालुको जोखिममा सडक आरसिसी भएपछि अव दुर्घटनाको भय हटेको बताउनुभयो। गाडी माथिबाट लिँदा होस या उकालो ल्याउँदा कति बेला दुर्घटना हुन्छ भन्ने चिन्ता हुन्थ्यो, अब यो चिन्ता हटेको न्यौपानेको भनाई छ। चट्टान क्षेत्र भएकाले सडकको ट्याक खोल्दा निकै जोखिम थियो।