आयात र निर्यात घट्दा नेपालको व्यापार घाटामा कमी
2024-02-23 16:52:40cri
Share with:

आयातसँगै निर्यात व्यापार पनि घट्दा नेपालको व्यापार घाटामा कमी आएको छ। चालु आर्थिक वर्षको पहिलो ७ महिनासम्म व्यापार घाटा हरेक महिना घटेको भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्षको ७ महिनामा आयात २.३१ प्रतिशतले घटेर ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँमा झरेको छ । आयातसँगै निर्यात व्यापार पनि खुम्चिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोडको निर्यात भएको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो ७ महिनामा ९३ अर्ब ४३ करोडको निर्यात भएको उल्लेख छ । यस अवधिमा व्यापार घाटा १.७७ प्रतिशतले घटेर ८ खर्ब ११ अर्ब ११ करोड पुगेको छ । जबकि गत आर्थिक वर्षको पहिलो ७ महिनामा व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड थियो ।

स्वदेशमै उत्पादन हुने वस्तुमा समेत परनिर्भर हुँदा घाटा भएको छ । तुलनात्मक लाभका वस्तु पहिचान गरिए पनि गुणस्तरीय उत्पादनमा जोड नदिँदा घाटा भएको हो । ६ महिनाको वैदेशिक व्यापारको तथ्यांक हेर्दा पनि आयात/निर्यात र व्यापार घाटा घटेको देखिन्छ । ६ महिनाको अवधिमा आयात ३.०९ प्रतिशतले घटेर ७ खर्ब ६८ अर्ब १६ करोड पुगेको छ । त्यस्तै, ६ महिनामा निर्यातको ७.२३ प्रतिशतले घटेर ७४ अर्ब ९६ करोडमा झरेको छ । व्यापार घाटा पनि २.६२ प्रतिशतले घटेर ६ खर्ब ९३ अर्ब १९ करोडमा झरेको उल्लेख छ । व्यापार घाटा घट्नु उचित भए पनि निर्यात बढ्न सकेन । जानकारका अनुसार उद्योग व्यवसाय पूर्ण रूपमा चल्न सकेका छैनन् । पूर्वाधार र विकास निर्माणका काममा पनि सुस्तता आएको छ । यसले अर्थतन्त्र संकुचन भएको जानकारहरू बताउँछन् ।

विभागका अनुसार आयात हुने वस्तुमा सबैभन्दा अगाडि पेट्रोलियम पदार्थकै छ । ७ महिनामा ७७ अर्ब ४१ करोडको डिजेल आयात भएको छ । यो परिमाण गत वर्षको ७ महिनाको तुलनामा कम हो । गत वर्ष यही अवधिमा ८४ अर्ब ६१ करोडको आयात भएको थियो । त्यस्तै, ३८ अर्ब ८२ करोडको पेट्रोल आयात भएको छ । गत वर्षको ७ महिनामा ३८ अर्ब ७३ करोडको पेट्रोल आयात भएको थियो । त्यस्तै, ३० अर्ब ३१ करोडको खाना पकाउने ग्यास, २५ अर्ब ९२ करोडको एचआरसिट, २२ अर्ब ६६ करोडको शुद्ध फलाम आयात भएको छ । २१ अर्ब ४५ करोडको तयारी कपडा, १८ अर्ब १७ करोडको मोबाइल टेलिफोन, १६ अर्ब १२ करोडको एलोपेथिक औषधि आयात भएको उल्लेख छ ।

निर्यात हुने वस्तुमा पहिलो नम्बरमा फलामे पाता ७ अर्ब ५ करोड, दोस्रोमा ६ अर्ब ४१ करोडको सेन्थेटिक यार्न निर्यात भएको छ । ६ अर्ब ७ करोडको उनी गलैंचा, ५ अर्ब २२ करोडको तयारी कपडा,४ अर्ब ४४ करोडको अलैंची, ४ अर्ब ३८ करोडको फलफूलको जुस, ४ अर्ब २१ करोडको प्लाई उड निर्यात भएको छ ।

७ महिनाको अवधिमा ३ अर्ब ५९ करोडको प्रशोधित पाम तेल निर्यात भएको थियो । गत आर्थिक वर्षको पहिलो ७ महिनामा भने १३ अर्ब ९२ करोडको पाम तेल निर्यात भएको थियो । निर्यातमा मुख्यतः खाने तेलको भूमिका रहन्छ । तेस्रो मुलुकबाट आयात हुने खाने तेलको कच्चा पदार्थ व्यवसायीहरूले रिफाइन गरेर पुनः भारत निर्यात गर्दै आएका छन् । खाने तेलको निर्यातमा आएको गिरावटसँगै समग्र निर्यात व्यापार घटेको हो ।