नेपालका ३४ विमानस्थलमा टेलिकमको निःशुल्क वाइफाई
2024-02-24 15:52:59cri
Share with:

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ वटा विमानस्थलमा निःशुल्क वाइफाई उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच शुक्रबार सहमति भएको हो। सहमति अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्ने छ। यसबाहेक अन्य विमानस्थलमा समेत चरणबद्ध रूपमा निःशुल्क वाइफाई उपलब्ध गराउने सहमति भएको छ। विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवासम्बन्धी जानकारी उपलब्ध गराउन सूचना तथा सहायता कक्ष स्थापना गर्ने पनि दुई संस्थाबिच सहमति भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

निःशुल्क वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनका लागि उपकरणहरू जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनको काम भने नागरिक उड्डयन प्राधिकरणले गर्ने सहमति उल्लेख छ। त्यसै गरी यात्रुहरूलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थानसमेत प्राधिकरणले उपलब्ध गराउने भएको छ। 

सहमतिपत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गर्नुभएको छ।