बर्लिनमा नेपाली लघु फिल्मलाई 'स्पेसल जुरी मेन्सन' अवार्ड
2024-02-24 15:52:10cri
Share with:

बर्लिन फिल्म फेस्टिभलमा नेपाली लघु फिल्म 'सङ्ग्स अफ लभ एण्ड हेट'ले स्पेसल जुरी मेन्सन अवार्ड जितेको छ। विश्व चर्चित फिल्म फेस्टिभलको जेनेरेसन १४ प्लसतर्फ छनौट भएको यो फिल्मले स्पेसल मेन्सन जितेको कान्तिपुर अनलाइनले लेखेको छ।

जेनेरेसन १४ प्लसतर्फ योसँगै अन्य आठ अवार्ड घोषणा गरिएको थियो। सौरभ घिमिरेद्वारा निर्देशित १७ मिनेटको फिल्ममा रेडियोमार्फत प्रेमको परामर्श दिँदै हिँड्ने प्रस्तोता प्रेम पात्रले अनुभव गर्ने विछोड र त्यसपछि गर्ने यात्राको कथा समेटिएको छ।

यो फिल्म निर्देशक सौरभको स्नातकोत्तर गर्दाको ग्र्याजुएसन प्रोजेक्ट हो। बेल्जियमको 'लुका स्कुल अफ आर्ट'बाट निर्देशनतर्फ स्नातकोत्तर गर्नु भएका सौरभले आफूसँग भएका अर्काइभ फुटेजमार्फत यो फिल्म बनाउनु भएको हो। यो फिल्म परम्परागत फिल्म निर्माणको शैलीभन्दा फरक तवरमा बनेको छ। सम्पादन टेबलमै करिब पाँच महिना काम गरेपछि फिल्म तयार भएको हो। फिल्मलाई मिङ्सो लिम्बूले निर्माण गर्नु भएको हो। 'शाम्बाला' लिएर बर्लिन पुग्नु भएका निर्देशक मीन भाम पनि फिल्मका अर्का निर्माता हुनुहुन्छ।