नौमुरे जलविद्युत परियोजनाको काम धमाधम
2024-02-25 18:06:19cri
Share with:

प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ। आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएपछि प्रारम्भिक चरणका पूर्वाधार निर्माणमा परियोजना प्रवेश गरेको हो। सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको छ करोड ४३ लाख रुपियाँबाट काम भइरहेको गोरखापत्र अनलाइनले लेखेको छ ।

आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद गौतमले आयोजना क्षेत्रमा पूर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “अहिले आयोजना स्थल पुग्ने पहुँच मार्ग, पुल, क्याम्प र कार्यालयलगायतका पूर्वाधार निर्माणको कार्य तीन वर्षभित्रै सक्ने लक्ष्य अनुसार काम भइरहेको छ।” पूर्वतयारीका सबै काम सकिएपछि मुख्य संरचना निर्माणको काम हुने सूचना अधिकारी गौतमले बताउनुभयो।

अहिलेसम्म लामाताल जलाशयको रिभर ट्रेनिङ वर्कको डिजाइन बनाउने, आयोजना क्षेत्रको जग्गा अधिग्रहण, जलाधार क्षेत्र संरक्षण, जलाशयको परिधि छुट्याउने कार्य, शीतखोला पुलको डिजाइन तयार पार्ने कार्य सकिएको छ।

यो वर्ष नौमुरे मुख्य जलाशयको माडी खोला र झिमरुक खोला दुवैतर्फ परिधि छुट्याउने कार्य, दर्भान (झिलिवाङ पहुँचमार्ग स्तरोन्नति र झिलिवाङ–नौमुरे बाँधस्थल पहुचमार्ग सुधार र निर्माण कार्य भइरहेको छ। 

प्रारम्भिक प्रतिवेदन अनुसार निकै सस्तो र बहुउपयोगी परियोजनाका रूपमा हेरिएको नौमुरे आयोजनामा अहिलेसम्म नेपाल सरकारले नै लगानी गरिरहेको छ।

सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले नौमुरे परियोजना क्षेत्रका स्थानीयले निर्माणमा भएको ढिलाइका कारण परियोजना बन्दैन कि भनेर चिन्ता गर्न थालेको बताउनुभयो। यस आयोजना अन्तर्गत नौमुरे जलविद्युत् आयोजना २१८.३४ मेगावाट, लामाताल जलविद्युत् आयोजना आठ मेगावाट, सुराई नाका जलविद्युत् आयोजना ५४.७ मेगावाट गरी तीन वटा जलविद्युत् आयोजना निर्माण हुने छ। तीन वटै आयोजना जलाशययुक्त हुने छन्।

यी आयोजनाहरू सम्पन्न हुँदा यसबाट दाङ, कपिलवस्तु र बाँकेको गरी कुल ८० हजार हेक्टर जमिनमा वर्षभरि नै  सिँचाइको सुविधा पुग्ने छ। नौमुरेमा १६० मिटर उचाइको बाँध बाँधेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

सम्भाव्यता अध्ययन अनुसार सात वर्षमा निर्माण गर्न सकिने नौमुरे परियोजनाका लागि एक खर्ब २६ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ। कुल तीन हजार ४१४ वर्ग किलोमिटर क्षेत्र आयोजनाले प्रभावित हुने छ।