पूर्वी नेपालको पाथीभरा क्षेत्रमा तीर्थयात्रीको पहुँचमा रेडपाण्डा
2024-02-27 16:03:30cri
Share with:

लजालु तथा लाटो जनावरको रुपमा परिचित विश्वकै दुर्लभ रेडपाण्डा (हाव्रे) पाथीभरा क्षेत्रमा एकपछि अर्को देखिन थालेको संरक्षणविदहरूले बताएका छन्। बासस्थान बिनास, चोरीशिकारी, घरपालुवा जनावरको आक्रमण जस्ता कारण संरक्षणमा चुनौती रहेको कान्तिपुर अनलाइन लेख्दछ। पाथीभरा क्षेत्रमा एकपछि अर्को भेटिएकाले संख्यात्मक रुपमा भने राम्रो हुनसक्ने रेडपाण्डा नेटवर्कका कार्यक्रम अधिकृत वाङचु भोटियाले बताउनुभयो।

 

नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले संरक्षण सम्बन्धी कार्यक्रम पनि गर्दै आएको छ । घरपालुवा र जथाभावी छोडिने कुकुरका कारण रेडपाण्डा समस्यामा परेको भन्दै कुकुर बन्ध्याकरण शिविर चार वर्षदेखि चलाइरहेको छ। कुकुरको संख्या नियन्त्रणमा ल्याउन ल्याउन यस्तो अभियान चलाएको हो । रेडपाण्डा सम्बन्धी पाठ्यक्रम बनाएर रेडपाण्डा पाइने क्षेत्रमा कक्षा ५ सम्म पढाई हुने गरेको छ ।

 

नेटवर्कका अनुसार देशका २३ हिमाली तथा पहाडी जिल्लामा रेडपाण्डा पाइन्छ । ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा रेडपाण्डा पाइने गरेको छ । नुवाकोट, धादिङ, लमजुङ, म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम, डोल्पा, जाजरकोट, जुम्ला, मुगु र कालिकोट पनि रेडपाण्डा बासस्थानको रुपमा रहेको नेटवर्कको तथ्यांकमा उल्लेख छ ।

 

२५ प्रतिशत भने ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा मात्रै पाइने बुझाई अनुरुप नेटवर्कले संरक्षणको काम गर्दै आएको छ । संख्या यकिन नभएको यो जनावर नेपालमा ५ सयको हाराहारीमा रहेको प्रारम्भिक तथ्यांक छ । विश्वमा एक हजारको हाराहारीमा रहेको र संकटापन्न सूचीमा राखिएको जनावर चीन, भारत, भुटान र बर्मामा रहेको नेटवर्कले उल्लेख गरेको छ ।

साना र एक्लिएको रुपमा रहेको बासस्थान, सिकारी र सिकारी कुकुरको आक्रमण, संरक्षण शिक्षाको कमी, आहाराको कमी, लोभ तथा भ्रममा परेर गरिने अबैध ब्यापार संरक्षणका चुनौती हुन् । यसको मुख्य आहारा मालिङ्गो र निगालो हो । रेडपाण्डा रुखको टोड्का र झाँडीमा गुण बनाएर बस्ने गरेको छ ।

 

डढेलो, मालिगोको विनासले आहाराको समस्या रहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम अधिकृत रमेश राई बताउनुहुन्छ। प्राकृतिक रुपमा घट्दो जन्मदर र बड्दो मृत्यूदर पनि कारक रहेको संरक्षणकर्मीको बुझाई छ। माघफागुनमा गर्भाधारण गर्ने र असारदेखि भदौसम्म सतान जन्माउने यस्को सुरक्षित बासस्थान भए संख्यामा बृद्धि हुने संरक्षणकर्मीको बुझाइ छ ।

 

संरक्षणकालागि पाथीभरा क्षेत्रको सामुदायिक वन सम्बन्धी कार्ययोजना बनाएर लागु गरिएको छ । रेडपाण्डा मारे ओसार पसार गरे वा नियन्त्रणमा राखे १ देखि १० वर्षसम्म कैद र १ देखि १० लाखसम्म जरिवाना वा दुवै हुने कानुनी ब्यवस्था छ । पछिल्ला वर्ष ओसारपसारमा संलग्न पनि पक्राउ पर्ने र कानुनी दायरामा आउन थालेकाले संरक्षणमा टेवा पुग्नेक्रममा रहेको सामुदायिक वन उपभोत्ता महासंघका अध्यक्ष सुरज ओझाको भनाइ छ।