बेइजिङस्थित नेपाली दूतावासमा पर्यटन प्रवर्द्धनका सम्भावना विषयक एक कार्यक्रमको आयोजना
2024-02-27 15:05:46CRI
Share with:

बेइजिङस्थित चीनकालागि नेपाली दूतावासले चिनियाँ पर्यटकलाई भित्र्याउने तथा पर्यटन उद्योगको प्रवर्द्धन तथा लगानीकर्तालाई आकर्षित गर्ने उद्देश्यसहित नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनका सम्भावना विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

पर्यटन क्षेत्रमा कार्यरत करिब ६० जना नेपाली र चिनियाँ प्रतिनिधिबीच विचार तथा अनुभव आदानप्रदान र थप सहकार्यका उपायको खोजी गर्ने उद्देश्यले नेपाल र चीनका ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूबीच एक अन्तक्रिया आयोजना गरेको हो।

चीनकालागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले जैविक विविधता र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालको पर्यटन उद्योगको प्रवर्द्धनको खाँचो रहेको उल्लेख गर्दै स्वागत मन्तव्य राख्नुभएको छ।

यसै गरी, कार्यक्रमका प्रमुख अतिथि चीनको वल्ड टुरिजम एलायन्सका उपाध्यक्ष तथा महासचिव लिउ शचुन, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेज (क्याट्स) का उपाध्यक्ष तथा महासचिव सुन कुइचन तथा हिमालय एयरलाइन्स, सछ्वान एयरलाइन्स, एयर चाइनाका प्रतिनिधिले आआफ्ना विचार तथा अनुभवहरू राख्नुभयो।

यसबाहेक, चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेजका प्रतिनिधि चाङ वन, चिनियाँ ट्राभल वेबसाइट माफङ्वोका प्रतिनिधि लिउ थिङथिङले चिनियाँ पर्यटन र पर्यटकको दृष्टिकोणबारे प्रस्तुति राख्नुभयो। यसै गरी, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का नवराज दाहाल तथा अर्थबाउन्ड एक्सपिडिसनका राजन सिम्खडाले नेपालको पर्यटन क्षेत्रको सम्बन्धमा जानकारी दिनुभएको छ।

 

नेपालले सन् २०२५ मा 'भिजिट नेपाल' मनाउनलागेको परिप्रेक्ष्यमा यो अन्तक्रिया चीनबाट आउने पर्यटकलाई आकर्षित गर्ने आधार बन्ने आशा छ।

बेइजिङबाट अजय अलौकिक