मुलुकको कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात
2024-02-27 16:02:42cri
Share with:

मुलुकको कुल निर्यातभन्दा दोब्बर मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउनमाघ) मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सो अवधिमा भारतबाट एक खर्ब ८४ अर्ब ३७ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र ग्यास) आयात भएको छ । सो अवधिमा निर्यात सात प्रतिशत र आयात दुई प्रतिशतले घटेको छ ।

 

सात महिनामा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँ बराबरको कुल आयात हुँदा पेट्रोलियम पदार्थको आयात भने झन्डै दुई खर्बको हाराहारीमा रहेको छ । कुल आयातको २० प्रतिशत पेट्रोलियम पदार्थ रहेको तथ्याङ्कले देखाएको छ । इन्धनको आयात बढ्दा व्यापार घाटासमेत उच्च हुने गर्छ ।

 

विभागको तथ्याङ्क अनुसार माघसम्म सबैभन्दा धेरै ७७ अर्ब ४१ करोड ९८ लाख रुपियाँ बराबरको सात लाख २९ हजार किलोलिटर डिजेल आयात भएको छ । यस्तै ३८ अर्ब ८२ करोड रुपियाँ बराबरको तीन लाख ९१ हजार किलोलिटर पेट्रोल आयात भएको छ।  सो अवधिमा ११ अर्ब ९८ करोड ४० लाख रुपियाँ बराबरको एक लाख १० हजार किलोलिटर हवाई इन्धन, छ अर्ब ५९ करोड ८५ लाख रुपियाँ बराबरको मटितेल आयात भएको गोरखापत्र अनलाइनले जनाएको छ।

 

यस्तै ३० अर्ब ३१ करोड रुपियाँ बराबरको दुई लाख ९८ हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । चालु आवको सात महिनामा पेट्रोलको आयात सामान्य बढे पनि डिजेल र ग्यासको खपतमा भने कमी आएको छ । गत वर्ष सात महिनामा ३३ अर्ब रुपियाँ बराबरको ग्यास आयात भएको थियो।

गत वर्ष सात महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख रुपियाँ बराबरको डिजेल आयात भएको थियो ।

 

आर्थिक गतिवधि सक्रिय रूपमा सञ्चालन नहुँदा डिजेल खपत हुँदा आयातमा कमी आएको छ । २५ देखि ३० प्रतिशत डिजेल औद्योगिक क्षेत्रमा खपत हुने गर्छ । पछिल्लो समय आर्थिक मन्दीका कारण पूर्वाधार निर्माणको काम तीव्र गतिमा हुन सकेको छैन। निगमका अनुसार सात महिनामा डिजेल आयातमा १३ प्रतिशतले कमी आएको छ। यस्तै बिजुलीको प्रयोग बढ्दा ग्यासको खपतमा दुई प्रतिशतले कमी आई आयातमा समेत कमी आएको छ । पेट्रोलको खपत भने दुई प्रतिशतले बढेको निगमले जनाएको छ । हाल बजारमा मासिक ५७ हजार ३३८ किलोलिटर पेट्रोल, ९९ हजार ४६९ किलोलिटर डिजेल, एक हजार किलोलिटर मटितेल१४ हजार ४४७ किलोलिटर हवाई इन्धन र ४२ हजार मेट्रिक टन ग्यासको खपत हुने गरेको छ ।

 

यसैबीच चालु आवको सात महिनामा पेट्रोलियम पदार्थ आयात गरेर ६० अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। नेपाल आयल निगमका अनुसार साउनदेखि माघ मसान्तसम्म ६० अर्ब ५९ करोड रुपियाँ राजस्व सङ्कलन भएको हो ।

 

सात महिनामा भन्सार शुल्कबापत २० अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै सडक मर्मत शुल्कबापत तीन अर्ब, वातावरण शुल्कबापत  एक अर्ब ६८ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) बापत २४ अर्ब १० करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै पूर्वाधार विकास करबापत ११ अर्ब १७ करोड रुपियाँ सङ्कलन भएको छ ।