विद्युतीय गाडीको आयात बढ्यो
2024-02-28 16:08:12cri
Share with:

पेट्रोल र डिजेलबाट चल्ने ४ पांग्रे साना सवारी साधनको तुलनामा विद्युतीय गाडीको आयात बढेको छ। अघिल्लो वर्षदेखि विद्युतीय गाडीको बिक्री बढेसँगै आयात बढ्न थालेको हो । भैरहवा नाका हुँदै अहिले पेट्रोल डिजेलबाट चल्ने कार जीप भन्दा विद्युतीय गाडीको आयात २५ प्रतिशत बढीले वृद्धी भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताउनुभयो।

 

तथ्यांक अनुसार यो नाका हुँदै गत वर्षदेखिनै इन्धनबाट चल्ने साना ४ पांग्रे सवारी साधनको तुलनामा विद्युतीय कार जीपको आयात बढ्दै गएको छ । भन्सारका अनुसार चालु वर्षको साउनदेखि माघसम्म २०६६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ । ती साधनको मूल्य ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ । त्यसता साधन आयात हुँदा राजस्व भने १ अर्ब ३८ करोड संकलन भएको छ । इन्धनबाट चल्ने सवारी साधनका तुलनामा विद्युतीय कार जीपको कर कम छ ।

 

सोही अवधिमा यो नाका हुँदै पेट्रोल डिजेलबाट चल्ने १ हजार ५०९ वटा कार, जीप र भ्यान आयात हुँदा राजस्व ४ अर्ब २५ करोड ६३ संकलन भएको थियो । ती सवारीका मूल्य १ अर्ब ६६ करोड रहेको पनि तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको यही अवधिमा कार जीपको आयात ५६० वटा थियो । गत वर्षको ७ महिनाको तुलनामा चालु वर्ष इन्धनबाट चल्ने ४ पांग्रे सवारी साधनको आयात तेब्बर बढी भए पनि विद्युतीय कार जीपको आयातलाई भने उछिन्न सकेको छैन ।

 

आर्थिक वर्ष २०७९/८०मा विद्युतीय कार जीप ६ अर्ब १४ करोड मूल्यका २ हजार २७० वटा भैरहवा नाका हुँदै भित्रिएको थियो । सो वापत १ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । सोहि वर्ष पेट्रोल डिजलबाट चल्ने जीप, कार र भ्यान १ अर्व ९३ करोड रुपैयाँ बराबरको १ हजार ६३१ वटा आयात भएको थियो । यी साधनमा ४ अर्ब ९१ करोड बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

 

विद्युतीय गाडीको तुलनामा इन्धनबाट चल्ने गाडीका करका दरहरु अधिक छन् । त्यसैले भारतमा सस्तोमा पाइने गाडी नेपाल भित्रिदा अढाई गुणासम्म महँगो हुने गर्छ । इन्धनबाट चल्ने कार जीपमा भन्सार शूल्क ८० प्रतिशत, अन्तशूल्क ६५ प्रतिशत, मुअकर १३ प्रतिशत र सडक विकास कर ५ प्रतिशत लाग्छ । कारजीप भ्यानको इन्जिन क्षमता र सिट संख्याका आधारमा महसुल लाग्ने भन्सार एजेन्ट महासंघका सचिब कृष्णप्रसाद घिमिरेले बताए ।

 

त्यसैगरी विद्युतीय कार जीपमा भने भन्सार शूल्क १५ प्रतिशत, अन्तशूल्क शून्य प्रतिशत, मूल्य अभिवृद्धी कर १३ प्रतिशत र सडक विकास कर ५ प्रतिशत लाग्छ । अन्तशूल्क नलाग्ने र भन्सार शूल्क पनि न्यून भएका कारण विद्युतीय कार जीप सस्तोमा नेपाल भित्रने गर्छ । नेपालका अन्य नाकाहरुबाट पनि विद्युतीय कार जीप बढी भित्रिरहेको घिमिरे बताउनुहुन्छ। इन्धनबाट चल्ने कार जीप भने नेपालमा बुकिङ भएपछि मात्रै भारतमा भण्डारण गरी राखिएको स्थानबाट भन्सार गराउन पठाउने गरिन्छ।

पहिला धेरै गाडी भन्सार आयातकर्ताले एकै लटमा ल्याउने गथ्र्ये । तर, अहिले गाडी बिक्न छाडेपछि आवश्यकता अनुसार मात्रै भन्सारबाट छुटाउने गरिन्छ। इन्धनबाट चल्ने कार जीपको भन्दा मूल्यमा कम, एक पटक चार्ज गरेपछि कम्तिमा ३ सय किमीसम्म सजिलै चल्ने र पहिलेभन्दा बढी चार्जिंङ स्टेशन राजमार्गका साथै सहर बजारमा, होटलहरुमा, सर्भिस सेन्टरमा समेत उपलब्ध हुन थालेपछि यसतर्फ उपभोक्ताको आकर्षण बढेको मोरिस ग्यारेजका सञ्चालक हरि थापाले बताउनुभयो। कारोबार।