६ महिनामा १३ अर्बको विद्युत् निर्यात, २ अर्बको आयात
2024-02-29 16:08:57cri
Share with:

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ । कान्तिपुर अनलाइनका अनुसार प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ।

 प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फतर मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

 समीक्षा अवधिमा १ अर्ब ४७ करोड ६४ लाख युनिट विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ। सुख्खायाम सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाहरुको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ। समीक्षा अवधिमा २२ करोड ५ लाख युनिट विद्युत् आयात गरिएको छ। वर्षायाम सुरुभएसँगै फेरि विद्युत् निर्यात सुरु हुने छ ।