पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी प्रदेशका लगानीकर्ता एकजुट
2024-02-29 16:08:23cri
Share with:

लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनकालागि होटल व्यवसायी एकजुट बनेका छन् । त्यसकालागि उनीहरुले प्रोमोटिङ इच अदर (पर्यटन प्रवर्द्धनमा व्यवसायी) अभियान थाल्नु पर्नेमा जोड दिएका छन् ।  मुलुकमा धेरै सम्भावना भएको पर्यटन क्षेत्रलाई सरकारले उपेक्षा गरेकाले आफैं अग्रसर हुनुपरेको उनीहरुले बताए । पर्यटनमा देखिएका समस्या समाधानकालागि रुपन्देहको बुटवलमा भेला भएका प्रदेशका विभिन्न जिल्लाका ठूला होटल लगानीकर्ताले पर्यटक आगमन सहज तुल्याउन माग गरे । त्यसकालागि भूमिका खेल्न सरकारसित अनुरोध गरे ।

 नेपलीज होटेलियर्स एशोसिएसन लुम्बिनीमा आवद्ध व्यवसायीले व्यवसायलाई थप गुण्स्तरीय, व्यवस्थित र मर्यादित तुल्याउने उद्देश्यले आपसी भेटघाट र सहकार्यसाथ अघि बढेको बताए। एशोसिएसनका अध्यक्ष तथा बुटवलस्थित क्लब डेनेभो होटलका संचालक प्रवीणबहादुर पाठकले एक सयभन्दा बढी भाषा, विभिन्न जातजाति एवं परिकारको धनी मुलुकमा प्रत्येक वर्ष १० लाखमात्रै पर्यटक आउँदा खुसी हुनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो। सधैं १० लाखको नाराले खर्बौंको लगानी रहेको होटल व्यवसाय धरासायी हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो। मुलुकलाई सस्तो नभई उत्कृष्ट गन्तव्यका रुपमा चिनाउन आफूहरु एकजुट बनेको उहाँको भनाइ थियो।

 रुपन्देहीमा ठूला र तारे होटलको संख्या बढ्दै गएपछि सात महिना अघि गठन भएको एशोसिएसनले राज्यको नीति कार्यान्वयनको पाटोलाई घचघच्याउन संस्था स्थापना गर्नुपरेको जनाएको छ । संस्थाले पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेको रुपन्देहीमा पर्यटक टिकाउने उपायको अध्ययन गरी सम्बन्धित निकायलाई प्रतिवेदन बुझाएर कार्यन्वयनका लागि दबाब दिने जनाएको छ । जिल्लामा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहियानाका, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल, ६ लेन सडक, लुम्बिनी, जितगढी किल्लालगायतका पूर्वाधार र पर्यटकीयस्थलले रुपन्देही होटल हब बनिसकेको अध्यक्ष पाठकले बताउनुभयो। तर, राज्यको अपरिमार्जित नीति नियम, कानुन र बनेका पूर्वाधार सञ्चालन नहुँदा पर्यटक आउने वातावरण खस्किँदै गएको उहाँको ठम्याइ छ।

एशोसिएसनका उपाध्यक्ष दिलीप गौचनले प्रदेशका हिल स्टेशनमा भारतीय एवं अन्य पर्यटकलाई आकर्षित गर्न सशस्त्र युद्ध प्रभावित क्षेत्रमा गुरिल्ला ट्रेक र युद्ध संग्राहलय निर्माण गरेर पनि पर्यटक भित्र्याउन सकिने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको साथै रुपन्देहीमा रात्रिकालीन व्यवसाय संचालन, क्यासिनो तथा नाइट क्लबको हबबनाई वेडिङ डेस्टिनेशनको रुपमा विकास गर्न भारतीय रुपैयाँ २५ हजार भन्दा धेरै ल्याउन पाउनुपर्ने सुविधा समेत खुला गर्नुपर्ने आफुहरुको आग्रह रहेको बताउनुभयो।

एशोसियसनका महासचिव विकास पाण्डेले होटल व्यवसाय पूर्ण सञ्चालन भएमात्रै कृषि उत्पादनले बजार पाउने, रोजगारी बढ्ने, साना व्यवसाय समेत चल्ने बताउनुभयो।

 लुम्बिनी प्रदेशका स्तरीयदेखि पाँचतारेसम्मका ४० बढी होटल आबद्ध एशोसिएसनले नेपाली आकाशलाई कालोसूचिबाट हटाउन, आन्तरिक उडानमा नेपाली र विदेशीलाई हवाइ भाडा दर समान बनाउन, रुपन्देहीलाई क्यासिनो हब, नाइट लाइफ र वेडिङ डेस्टिनेसन (भारतीयहरु यहाँ आएर विवाह र भोज गर्ने गन्तव्य) को रुपमा विकास गर्न माग गरेको छ । त्यस्तै लुम्बिनीलाई शान्तिशहर, ध्यान र योगा केन्द्रको रुपमा विकास गर्न र लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बर्थिङ अस्पतताल बनाउन, नेपाली फौजले अंग्रेजलाई परास्त गरेको बुटववलको जितगढी किल्लालाई युरोपलगायत मुलुकमा ब्राण्डिङ गरी पर्यटक आकर्षित गर्न सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने व्यवसायीको भनाई छ। कान्तिपुर अनलाइनका अनुसार व्यवसायीले आफुहरुमा समेत कमीकमजोरी रहेकाले आफुहरु सच्चिँदै राज्यलाई यस क्षेत्रको महत्व बुझाई हरेक नीति परिमार्जनसहित कार्यान्वयनको पक्षमा ल्याई छाड्न आफुहरु लागिपर्ने बताए।