चिनियाँ परराष्ट्र मन्त्री र ७८औँ संयुक्त राष्ट्रसङ्घको महासभा सुरक्षा परिषद् सुधारसम्बन्धी अन्तरसरकारी वार्ता संयन्त्रका सह-अध्यक्षहरू बीच भेटवार्ता
2024-02-29 10:35:17CRI
Share with:

फेब्रुअरी २८ मा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले ७८औँ संयुक्त राष्ट्रसङ्घको महासभा सुरक्षा परिषद् सुधारसम्बन्धी अन्तरसरकारी वार्ता संयन्त्रका सहअध्यक्ष  अर्थात् संयुक्त राष्ट्रसङ्घका लागि कुवेतका स्थायी प्रतिनिधि तारेक एम ए एम अलबनाई र संयुक्त राष्ट्रसङ्घका लागि अष्ट्रियाका स्थायी प्रतिनिधि अलेक्जेन्डर मार्सचिकसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले विश्व शासनव्यवस्थाको सुधार र निर्माणलाई अगाडि बढाउन, संयुक्त राष्ट्रसङ्घको निरन्तर विकास र सुधारमा तथा मानव जातिको संयुक्त भाग्य समुदायको निर्माणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न चीनले अन्तर्राष्ट्रिय समाजसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभयो।

परराष्ट्र मन्त्री वाङ यीले भन्नुभयो, दुईजना सह अध्यक्षले संयुक्त राष्ट्रसङ्घको दीर्घकालीन विकास र सबै सदस्य राष्ट्रको साझा हितको दृष्टिकोणबाट सुरक्षा परिषद्को सुधारलाई सही दिशामा र निरन्तर प्रवर्द्धन गर्दै आउनुभएकोछ। यसै क्रममा विकासोन्मुख देशहरूको प्रतिनिधित्व र आवाजलाई बढाउने, अझ धेरै साना र मझौला देशहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने अवसर प्रदान गर्ने र सबै सदस्य राष्ट्रहरूलाई सुधारबाट लाभ उठाउने कार्यमा चीनले समर्थन गर्दै जाने छ। अन्तर्राष्ट्रिय समाजको ऐक्यबद्धता र सहयोगलाई कायम राख्दै हामीले अन्तरसरकारी वार्ता प्रक्रियालाई मुख्य च्यानलको रूपमा कायम राख्दै जाने छौँ। साथै अन्तर्राष्ट्रिय समुदायको व्यापक सहमति खोज्दै जाने छौँ।

सहअध्यक्ष अलबनाई र मार्सचिकले संयुक्त राष्ट्रसङ्घको भूमिकालाई सुदृढ तुल्याउने, बहुपक्षीयतालाई कायम राख्ने र संयुक्त राष्ट्रसङ्घको बडापत्रका उद्देश्य तथा सिद्धान्तहरूको संरक्षण गर्ने क्षेत्रमा चीनको दीर्घकालीन प्रयासको उच्च प्रशंसा गर्नुभयो। साथै उहाँहरूले सुरक्षा परिषद्को सुधारको विषयमा चीनलगायतका सदस्य राष्ट्रहरूसँग सम्पर्क र समन्वय कायम राख्न इच्छुक रहेको पनि बताउनुभयो।