पूर्वी नेपालको प्रसिद्ध तीर्थस्थल पाथीभरामा ४६ देशको मुद्रा सङ्कलन
2024-03-01 16:20:26cri
Share with:



ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा विभिन्न ४६ देशका विदेशी मुद्रा सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकमबापत विदेशी मुद्रा सङ्कलन भएको हो ।

 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार अमेरिकी डलरसहित ४६ भन्दा बढी देशको विदेशी मुद्रा सङ्कलन भएको हो । भेटी रकमका रूपमा सङ्कलन भएको विदेशी मुद्रामध्ये तीन हजार ९३३ अमेरिकी डलर रहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी दक्षिण कोरियाको आठ लाख ६० हजार मुद्रा रहेको छ । यस्तै इन्डोनेसियाको १६ हजार, जापानको १४ हजार १२९, इरानको १० हजार, ओमनको नौ हजार ७४० मुद्रा रहेको छ । कतारको चार हजार ९२, साउदी अरबको एक हजार ७२५, भियतनामको दुई हजार चार सय मुद्रा रहेको छ । सङ्कलन भएको सबैभन्दा कम विदेशी मुद्रामा लिबियाको एक र आइसल्यान्डको तीन र जोर्डनको चार रुपियाँ रहेको छ ।

 

यता विदेशी मुद्रामा भारतीय रुपियाँ (भारु) भने लाखौँ परिमाणमा सङ्कलन हुने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । भारतीय सिक्का रुपियाँ पनि लाखौँकै परिमाणमा सङ्कलन भइरहेको छ । अहिले भारतीय सिक्का गणना भइरहेको र हालसम्म चार लाख ९० हजार रुपियाँभन्दा बढी भारु सिक्का गणना गरिसकिएको समितिका कर्मचारी नवीन निरौलाले जानकारी दिनुभयो । गोरखापत्र अनलाइनका अनुसार  पाथीभरामा सङ्कलन हुने विदेशी मुद्रालाई सटही गरी समितिले आम्दानी बाँध्ने गरेको समितिले जनाएको छ।