विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण तीव्र
2024-03-01 16:21:47cri
Share with:

नेपाल विद्युत् प्राधिकरणले गएको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्‍याउन र वितरण सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्‍याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र चार सय भोल्टको लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको हो । साथै वितरण ट्रान्सफर्मर पनि जडान गरिएको छ ।

 

साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका नौ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ । 

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरि नै वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानकै रूपमा चलिरहेको बताउनुभयो ।

विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्तिलाई सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापक रूपमा गरिरहेका छौँ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

 

प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका लागि ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको बागमती तथा बकैया गाउँपालिकामा विद्युत् आपूर्तिका लागि छतिवन सबस्टेसन, म्याग्दीको मङ्गला, मालिका तथा धवलागिरि गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाटसुस्तापूर्व) को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका लागि बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलियतपूर्ण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत सबस्टेसन निर्माण गरिएको हो। आयोजना अन्तर्गत देशभरि २५ वटा नयाँ सबस्टेसनको निर्माण र १२ वटा सबस्टेसनको स्तरोन्नति तथा वितरण सञ्जाल निर्माण अगाडि बढाइएको थियो । २५ वटा सबस्टेसनमध्ये पाँच वटाको निर्माण अन्तिम चरणमा छ भने सबस्टेसनको स्तरोन्नति सम्पन्न भइसकेको छ ।

 

विश्व बैङ्कको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु ललितपुरको उनीचौरमा वितरणतर्फको ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

 

त्यस्तै विश्व बैङ्ककै सहुलियतपूर्ण ऋणमा रामेछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनसम्म पुग्ने ३३ केभी प्रसारण लाइन र त्यहाँबाट विद्युत् आपूर्तिका लागि लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याइएको  गोरखापत्र अनलाइनले जनाएको छ।