पर्यटन विकासका लागि नेपालका प्रमुख नेताहरुको एउटै आवाज
2024-03-02 15:57:19cri
Share with:

पर्यटन विकासका लागि नेपालका प्रमुख नेताहरुको एउटै आवाज दिएका छन्। भरतपुर भ्रमण वर्ष२०२४ को शुक्रबार नारायणगढ नारायणी नदी किनारमा उद्घाटन गर्दै उनीहरूले एउटै लयमा पर्यटन विकासमा जोड दिए। भरतपुर भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उद्घाटन गर्नुभएको थियो कार्यक्रममा सत्तारुढ गठबन्धनका साथै प्रतिपक्ष दलका पनि प्रमुख नेताहरु नै सहभागी भए। मन्तव्यको क्रममा उनीहरुले भरतपुर र समग्र चितवन भ्रमण गर्न अपिल पनि गरेका छन्।

 

प्रधानमन्त्री दाहालले कोरोनाका कारण शिथिल भएको पर्यटन चलमलाउन थालेको र भरतपुर भ्रमण वर्षले चितवनका साथै देशकै पर्यटकीय गतिविधि बढाउने बताउनुभयो। उहाँले पर्यटकको संख्याका साथै बसाइ अवधि बढाउने कार्यक्रमहरु तय गर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो

 

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व प्रसिद्ध निकुञ्ज आडैमा भएका कारण भरतपुर भ्रमण गर्नु फलदायी हुने बताउनुभयो।

 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू परिवारसहित भरतपुर र चितवन भ्रमण गर्न आउने छु भन्दै देशवासीलाई पनि भरतपुर घुम्न निमन्त्रणा गर्नुभयो

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय निकायले जनमुखी काम गर्नुका साथै आर्थिक विकासका लागि पर्यटनलाई जोड् दिनु सकारात्मक भएको बताउनुभयो। सो पार्टीका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खानलले पर्यटनले देशको आर्थिक कायाकल्प हुने र कृषि र रेमिट्यान्सबाट भएको लाभभन्दा ठूलो योगदान दिने बताउनुभयो। भ्रमण वर्षले यो उद्देश्यलाई पूरा गर्न भूमिका खेल्ने उहाँको भनाइ थियो ।

 

संविधानसभाको दोस्रो पटक निर्वाचन गराउन गठन भएको मन्त्रिपरिषद्‌का अध्यक्ष खिलाराज रेग्मीले चितवनले विदेशी पर्यटकको इतिहासदेखि नै मन जित्दै आएको बताउनुभयो

 

चितवन२ का सासंद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले भ्रमण वर्षमा भरतपुरमात्रै नभएर चितवनको सबै पर्यटकीय क्षेत्र घुम्ने डुल्ने अवसर रहेको बताउनुभयो।

 

उद्घाटन कार्यक्रमअघि भरतपुरका विभिन्न चोकबाट निस्कने र्‍याली र झाँकीहरुले बजार परिक्रमा गरेका थिए। उद्घाटन कार्यक्रममा ५० हजार जना सहभागी भएको मेयर रेनु दाहालले बताउनुभयो। भ्रमण वर्षमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य राखेको उहाँले बताउनुभयो। भ्रमण वर्ष अवधिभर विभिन्न ५१ वटा कार्यक्रमहरु सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो।

 

भरतपुरको आडमा दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज र हिन्दुहरुको प्रख्यात धार्मिक स्थल देवघाटधाम छ । भ्रमण वर्षका लागि महानगरले प्राकृतिक, धार्मिक, ऐतिहासिक र मानव निर्मितसमेत गरेर भरतपुरभित्र २२ वटा पर्यटकीय गन्तव्य तय गरेको कान्तिपुर अनलाइनले खबर लेखेको छ।