नेपाली उत्पादनका लागि अन्तर्राष्ट्रिय बजार खोजी गरिएको छ : परराष्ट्रमन्त्री
2024-03-03 15:47:19cri
Share with:

परराष्ट्रमन्त्री एनपी साउदले नेपाली उत्पादनको बजार अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न र विदेशी प्रविधि नेपालमा भित्र्याउन विदेशमा रहेका नेपाली राजदूतावासमार्फत पहल गरिएको बताउनुभएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६५ औं वार्षिक साधारणसभाको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री साउदले नेपालले आर्थिक फाइदा पाउने गरी आर्थिक कूटनीतिक रणनीति अघि बढाइएको बताउनुभयो।

 

विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरुलाई नेपालका लागि भीसा र पासपोर्ट उपलब्ध गराउने काममा मात्र सीमित नरहेर नेपालको कुन उत्पादन कुन-कुन मुलुकमा बेच्न सकिन्छ र नेपालमा भित्र्याउन सकिने त्यहाँको प्रविधिको पहिचान गर्न लगाएको छु,’ मन्त्री साउदले भन्नुभयो।

 

नेपालमा लगानीको क्षेत्र विस्तार गर्न सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको जनाउँदै उनले विश्वका ठूल्ठुला लगानीकर्तालाई प्रोत्साहन गरिने बताउनुभयो। नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न आवश्यक परेमा नीतिगत सुधार र नीति संशोधन गर्न सकिने उहाँले बताउनुभयो।

 

नेपालमा विदेशी लगानीकर्तालाई आकर्षित गराउन लगानी सम्मेलन गर्दै गर्दा स्वदेशी लगानीकर्तालाई पनि उत्साहित गराउने वातावरण तयार गरिने छ,’ मन्त्री साउदले भन्नुभयो,नेपालको आर्थिक समुन्नतिका लागि सरकार निजी क्षेत्र आपसमा सहकार्य गरेर अगाडि बढ्न जरुरी छ ।

कृषि उपजमा नेपाल आत्मनिर्भर बन्न नसकेर ठूलो परिमाणमा आयात गर्नु परेकाले व्यावसायिक कृषि उत्पादनमा लाग्न र कृषि उद्योग संचालन गर्न उनले निजी क्षेत्रलाई आग्रह गर्नुभयो।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न विभिन्न मुलुकसँग कूटनैतिक पहल जारी राखिएको छ, मन्त्री साउदका अनुसार, यसका लागि भारतका विदेशमन्त्री समक्ष एक हप्ताअघि कुरा राखिएको छ। यस विषयमा भारत सकारात्मक रुपमा अघि बढ्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो। उहाँले नेपालमा पर्यटनको विकासका लागि रामायण सर्किट, बुद्ध सर्किट र काशीपशुपतिनाथमुक्तिनाथलाई जोडेर पर्यटकीय रुटको विकास गर्ने काम भैरहेको जनाउनुभयो।

 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राज्यले अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गर्नुभयो। व्यापार सहजीकरणमा परराष्ट्रस्तरीय सहजीकरण हुन नसक्दा आयात निर्यातमा समस्या भएको शर्माले बताउनुभयो । पारवहनमा समस्या छ, पर्यटक आगमनामा समस्या छ, परराष्ट्र मन्त्रालयको भूमिका खोइ ?,’ प्रश्न गर्दै शर्माले भन्नुभयो, ‘पर्यटक नेपालमा आउँदा सीमा नाकाहरुमा अनेक समस्या छन् । सीमा नाकाहरुको सुदृढीकरण र सुन्दरीकरण हुन जरुरी छ ।

 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विदेश जानका लागि पासपोर्ट बनाउँदा १५ हजार तिरेमा भोलिपल्टै पाइने तर स्वदेशमा नै उद्योग व्यवसाय गर्न खोजेमा अनावश्यक दुःख र झन्झट बेहोर्नु पर्ने बताउनुभयो । युवा पुस्ता स्वदेशमा आफ्नो भविष्य नदेखेर नेपाल छाड्न चाहन्छन्,’ श्रेष्ठले भन्नुभयो, ‘युवा जनशक्ति नभएपछि उद्योग व्यवसायमा मानव संशाधनको अभाव हुन थालेको छ ।

 

साधारणसभाको अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघले उद्योग, व्यापार, कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याएको भन्दै पब्लिक कुरा अनलाइनका प्रधानसम्पादक तथा लुम्बिनी प्रेस क्लबका सचिव प्रकाश न्यौपानेलाई पुरष्कृत तथा सम्मानित गरेको छ। कान्तिपुर अनलाइन।