सिद्धबाबा सुरुङ मार्गमा दैनिक ३५ चिनियाँ इन्जिनियर कार्यरत
2024-03-05 16:02:14CRI
Share with:

नेपालमा सुरुङ युगअन्तर्गतको एउटा महत्वपूर्ण आयोजना सिद्धबाबा सुरुङ मार्ग अहिले धमाधम खनिएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिर नजिकैबाट अति जोखिमको खण्डमा अहिले सुरुङ निर्माण भइरहेको हो। दुई महिनामा करिब ३५ मिटर सुरुङ खनिएको छ। यो सुरुङ खन्नका लागि दैनिक ३५ जना चिनियाँ इन्जिनियरहरु खटिरहेको नेपाल प्रेस अनलाइनले लेखेको छ।

तराईबाट पहाड भित्रिन प्रयोग हुने यो खण्डको सबैभन्दा जोखिमपूर्ण मानिने पाल्पाको तिनाउ गाउँपालिका- ३ मा १.१२६ किलोमिटर लम्बाइको सुरुङ मार्ग निर्माण चालू छ। कुनै विघ्न बाधा र अवरोध नभए र यही गतिमा काम अगाडि बढे अबको ४ वर्षमा सिद्धबाबा सुरुङ मार्ग तयार हुने आयोजनाको दाबी छ।

वि.सं.२०७९ देखि निर्माण थालिए पनि पछिल्लो ६ महिनायता यसको कामले गति लिएको छ। ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा बन्ने सुरुङ मार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको हो। दुई महिनादेखि रातको समयमा सिद्धार्थ राजमार्गमा गाडीको आवागमन बन्द गरेर काम अघि बढाइएको छ।

हालसम्म सिद्धबाबा मन्दिर साइटतर्फ मात्रै करिब ३५ मिटर सुरुङ खनिएको छ। अर्कोतर्फको साइटमा सुरुङ परिसरलाई व्यवस्थित बनाउने काम सकिएपछि अर्को सातादेखि खन्ने काम सुरु हुने आयोजनाले जनाएको छ। सुरुङसँगै तीन ठाउँमा आपतकालीन मार्गसमेत खनिएको छ।

आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले अहिलेसम्म १७ प्रतिशत भौतिक प्रगति भएको र कामले रफ्तार लिएको बताउनुभयो। उपकरण, कामदार, साइट क्लियरदेखि बजेटसम्मको सबै प्रबन्ध ठीकठाक चलिरहेको उहाँको भनाइ छ।

कार्यस्थलमा खटिएका साइट इन्जिनियर रितेश पौडेल र सिनियर सर्भेयर मोहन बोहोरासहितको प्राविधिक टोली सुरुङ निर्माणस्थलमा नियमित खटिएको छ। उहाँहरुका अनुसार त्यहाँ चिनियाँमात्रै ३५ जना इन्जिनियर खटिएका छन्। त्यस्तै १०० जना नेपाली प्राविधिकले नियमित काम गरिरहेका छन्।

अहिले सुरुङको दक्षिणी मोहोडामा धमाधम काम भइरहेको छ। उत्तरी मोहोडामा सुरुङ माथिको जमिनलाई बलियो बनाउने काम भइरहेको छ। अग्लो चट्टानी भीर क्षेत्रमा रकनेट जाली लगाउने र सिमेन्टेड गरेर सुरुङ माथिको क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको इन्जिनियर पौडेलले बताउनुभयो।

गएको १० वर्षमा सिद्धबाबा खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ। लामो समयको छलफल र बहसपछि सिद्धबाबामा सुरुङ मार्ग निर्माण आयोजना कार्यान्वयनमा आएको थियो। सुरुङ मार्ग बनेपछि र बाँकी खण्ड पनि फराकिलो भएपछि यस खण्डमा ढुक्कसँग हिँडडुल गर्न सकिने स्थानीयको विश्वास छ।

जुनसुकै बेलामा पहिरो जाने जोखिम रहेको यो खण्डको यात्रामा हुने त्रास अब कम हुने आशा लिइएको पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ। उहाँले तराई र पहाडलाई जोड्ने महत्वपूर्ण मार्गको जोखिमपूर्ण खण्डलाई व्यवस्थित बनाउँदा तराई र पहाड दुबैतिरका बासिन्दालाई उत्तिकै लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

बुटवलदेखि पाल्पा जोड्ने गरी बनेको सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमको खण्ड हो यो। सडक बनेको ६२ वर्षपछि अहिले बल्ल यहाँ सुरुङ निर्माण अघि बढेको छ। बुटवल-पाल्पा सडक वि.सं.२०१८ सालदेखि खन्न सुरु भएको थियो। त्यसबेला विभिन्न पहाडी जिल्लाका नागरिकहरुले श्रमदान गरेका थिए। वि.सं.२०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको यो सडकमा अहिले दैनिक २ हजार ५०० हाराहारीमा गाडी गुड्छन्। यसलाई तराई र पहाडलाई जोड्ने लाइफलाइन खण्ड मानिए पनि अहिले बेलबास र देवदहतिरबाट बाइपास सडक निर्माण भएका छन्।

सुरुङ मार्गसँगै सिद्धबाबा सडक खण्डको विकल्पमा प्रदेश र स्थानीय सरकारले बनाएका वैकल्पिक मार्ग सञ्चालनमा आउने तयारीमा छन्। प्रदेश सरकारका संस्थापक मन्त्री एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लीला गिरीले वैकल्पिक मार्गमार्फत तराई र हिल स्टेसनलाई जोड्ने काम भइरहेको बताउनुभयो।

प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रूपन्देहीको चरङ्गे-मुढाबासबाट चौकी भञ्ज्याङ-ज्यामिरे हुँदै पाल्पाको झुम्सा पुग्ने सडकको निर्माणले तराई र पहाडलाई अझ नजिक बनाउने नेता गिरीको विश्वास छ।

त्यस्तै बुटवलको बेलबास हुँदै पाल्पाको तिनाउ गाउँपालिका जोड्ने अर्को २२ किलोमिटर लामो ट्रयाक पनि खोलिएको छ। सडक नुवाकोटबाट सिद्धार्थ राजमार्गमै जोडिन्छ। वैकल्पिक मार्गहरुको निर्माण र गाउँ केन्द्रित विकास आयोजनाले बसाइसराइ रोक्ने र पहाडमा समेत रोजगारी सिर्जना गर्ने नागरिक अगुवा तथा रुपन्देहीका प्रतिष्ठित उद्यमी श्रीकृष्ण पोखरेलको भनाइ छ।

सुरुङ मार्ग बनेपछि सिद्धार्थ राजमार्ग सुरक्षित र भरपर्दो सडक बन्नेछ। सुनौली-पोखरा सडक खण्डमा पर्ने सिद्धार्थ राजमार्गका ठूला घुम्तीहरू कटान भइरहेका छन्। बुटवलदेखि १५५ किमि दुरीमा रहेको पोखरा जोड्ने सिद्धार्थ राजमार्गका ठाउँ ठाउँका घुम्ती काटिँदैछ।

त्यस्तै दुई लेनको यो सडक खण्डलाई बुटवल-नारायणगढ जस्तै चार लेनमा विस्तार गर्ने गरी योजना अघि बढाएको छ भने पूर्व-पश्चिम राजमार्गको बुटवल-चन्द्रौटा खण्डको करिब ५० किमि सडक पनि चार लेनको हुँदैछ।

कालीगण्डकी करिडोर, सालझण्डी-ढोरपाटक सडक, मदन भण्डारी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जस्ता तराई-पहाड र पहाडकै बस्तीहरुलाई जोड्ने सडक पूर्वाधार विकासका कामले पूर्णता पाएमा यस क्षेत्रको मुहार फेरिने गुल्मीको कालीगण्डकीका शिक्षक विपीन ढकाल बताउँछन्।