गुणस्तरीय औषधी उत्पादनमा जोड
2024-03-06 16:14:28CRI
Share with:

मुलुकलाई औषधीमा आत्मनिर्भर बनाउन गुणस्तरीय औषधी उत्पादन गर्न सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘औषधीमा गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा उहाँले त्यसका लागि नेपाली औषधी उत्पादकले गुणस्तरीयता ध्यान दिने र सरकारले उद्योगहरूलाई सहयोग गर्नुपर्ने बताउनुभयो। 

सचिव डा. देवकोटाले सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधी नेपाली उद्योगले उत्पादन गरेको औषधी खरिद गर्नुपर्ने बताउनुभयो । त्यसका लागि औषधी व्यवस्था विभागसँग समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले आमसर्वसाधारणले स्वास्थ्य भन्नेबित्तिकै औषधीलाई नै पहिलो नम्बरमा राख्ने गरेको भन्दै औषधीमा आत्मनिर्भरताका लागि उत्पादन, आयात, गुणस्तर, नियमन र स्थिरता हुनुपर्ने बताउनुभयो । 

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीमा आत्मनिर्भर हुन सरकारले सहयोग गर्ने बताउनुभयो । कतिपय विषय आफूले चाहेर पनि नहुने भन्दै उहाँले सरकारले नेपाली औषधी उद्योगको प्रवर्धनका लागि सहयोग गर्ने बताउनुभयो। उहाँले औषधीको प्रयोगशालामा परीक्षण गरेकै आधारमा मात्रै कुनै पनि औषधीको गुणस्तर कायम नहुने बताउनुभयो।

गोरखापत्र अनलाइनका अनुसार औषधीको गुणस्तर कायम राख्न उत्पादनमा मात्रै नभएर ढुवानी र भण्डारणमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ। औषधी उत्पादक सङ्घ (एपोन) का अध्यक्ष महेश प्रधानले औषधी उद्योगले धेरै कठिनाइ झेल्नु परेको बताउनुभयो ।