विराटनगरमा मालवाहक रेलले निरन्तरता नपाउँदा व्यवसायी निरुत्साहित
2024-03-06 16:09:32CRI
Share with:

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेको विराटनगरको कार्गो रेल सेवाले निरन्तरता नै पाउने सकेको छैन । गत जेठ १८ मा एक पटक विराटनगर आइपुगेको कार्गो रेल सेवा त्यसपछि भने पुनः सञ्चालनमा नरहेको हो । गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दूरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो । 

भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश छन् । त्यसबेला आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको मालवाहक रेल फेरि फर्किएर नआएपछि उद्योगीमा निराशा छाएको हो । 

आयातको लागत न्युनिकरण हुने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ । नेपाल उद्योग परिसंघको कोशी प्रदेशका अध्यक्ष पवन सारडाले नेपालले भारतसँग गरेको रुट सम्झौता बमोजिम सिमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगीहरूले बताएका छन् । सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गोरेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको छ। 

रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए। सन्धिमा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिंकर र सिमेन्ट मात्र आयात गर्न पाउने विषय उल्लेख छ। क्लिकमाण्डु अनलाइन।