राजधानी काठमाडौंको ठमेलमा बढ्दै पर्यटकको चहलपहल, फेब्रुअरीमा साढे ९७ हजार पर्यटक
2024-03-06 16:08:25CRI
Share with:

पर्यटकीय याम सुरु हुनै लागेको बेला काठमाडौंको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ। पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो  नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ।

वसन्त ऋतुको सुरुआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउन थालेका हुन्। सन् २०२० मा विश्वका विभिन्न मुलुकसहित नेपालमा सुरु भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका क्लिकमान्डु अनलाइनले लेखेको छ।

ठमेलको चाक्सिबारीमा अन्तर्राष्ट्रियस्तरको आयुर्वेद चिकित्सामार्फत पर्यटकलाई उपचार गर्दै आउनुभएका स्पा सङ्घ नेपालका सचिव तथा जेन स्पाका सञ्चालक रामदेव महतो पछिल्लो समय नेपालको पर्यटन क्षेत्रले सकारात्मक मोड लिएको बताउनुभयो। ‘अन्य समयमा दैनिक पाँच-सात जना स्पाका लागि आउथे, पछिल्लो केही दिनदेखि २० देखि २५ जनासम्म आउने लागेका छन, यो नेपाली पर्यटन व्यवसायीको लागि खुसीको कुरा हो’, उहाँले भन्नुभयो। 

क्यासिनोसहित काठमाडौंको ठमेलमा सञ्चालित पाँचतारे द मल्ल होटलका फुड एण्ड बेभरेज इञ्चार्ज राम पुडासैनीले पछिल्लो समय होटलमा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको जानकारी दिनुभयो। ‘पर्यटक याम सुरु भएर होला, मार्च महिनामा ६० प्रतिशतभन्दा बढी होटलका कोठा बुकिङ भएका छन्’, उहाँले भन्नुभयो।

वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो । यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटकले रुचाउने गर्दछन् । यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् । अधिकांश विदेशीले आरोहणका लागि सगरमाथा नै जान खोज्ने गरेका छन्।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यो बर्षको फेब्रुअरीमा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ। बोर्डका सूचना अधिकारी तथा निर्देशक मणिराज लामिछानेका अनुसार यो वर्षको फेब्रुअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् ।

गत वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई ५५ पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार फेब्रुअरीमा २५ हजार पाँच सय ७८ पर्यटक नेपाल भित्रिएका छन्।

त्यस्तै, चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार ८९, थाइल्याण्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाई १३ दिनसम्म हुने गरेको छ भने दैनिक खर्च ४५ डलरसम्म हुने गरेको पाइन्छ ।