स्थलमार्ग हुँदै लुम्बिनी आउने पर्यटक बढे
2024-03-07 16:31:39CRI
Share with:

बेलहिया भैरहवा हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढेका छन्। कोरोना संक्रमणपछि सुस्ताएको पर्यटक आगमन दर बिस्तारै बढ्न थालेको हो। बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार फेब्रुअरीमा यो नाका हुँदै १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

यसअघि सन् २०१९ को फेब्रुअरीमा सर्वाधिक २५ हजार पर्यटक यो नाका हुँदै आएका थिए। २०२० को फेब्रुअरीमा २३ हजार, २०२१ मा एक हजार, २०२२ मा ५६ तथा २०२३ को फेब्रुअरीमा १३ हजार पर्यटक बेलहिया नाका हुँदै नेपाल भित्रिएको अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठले जानकारी दिनुभएको कारोबार दैनिकले लेखेको छ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको जनवरी, फेब्रुअरी दुवै महिनामा पर्यटक आगमन बढेको श्रेष्ठले बताउनुभयो।‘भारतीय पर्यटकहरूको तथ्यांक हामीहरूले राख्दैनौ, राहदानी लिएर प्रवेशाज्ञा लिएर जाने भारतीयहरूको मात्र तथ्यांक हामीसित हुन्छ। भिसा लिएर नेपाल प्रवेश गर्ने भारतीयको संख्या ७४ छ। तेश्रो मुलुकका पर्यटक बढेका छन्’श्रेष्ठले भन्नुभयो। श्रेष्ठका अनुसार यो नाका हुँदै जनवरी र फेब्रुअरी महिनामा सबैभन्दा बढी पर्यटक थाइल्याण्डबाट ८ हजार २३४ जना आएका थिए भने श्रीलंकाका ३ हजार ५३८, म्यान्मारका ३ हजार ९५४, दक्षिण कोरियाका १ हजार ५१२, भियतनामका १ हजार ८७ लगायत विभिन्न १२० भन्दा बढी मुलुकका पर्यटक रहेका छन्।

यो नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो। लुम्बिनीपछि पोखरा, चितवन, काठमाडौं, मुस्ताङ, मनाङ, पाल्पा पर्यटकहरूको रोजाइको गन्तव्य बन्ने गरेको छ। लुम्बिनीमा ९१ हजार पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न जाने विदेशी, भारतीय र नेपाली पर्यटकको संख्या पनि बढ्दै गएको छ।

लुम्बिनी विकास कोषका सूचना शाखाका कर्मचारी दिलिप कुलुंगका अनुसार फेब्रुअरीमा आन्तरिक र बाह्य गरी ९१ हजार २८० पर्यटकले लुम्बिनीलाई आफ्नो गन्तब्य बनाएका छन्। कुलुंगका अनुसार फेब्रुअरीमा नेपाली ५० हजार ३९९ जना, भारतीय २० हजार ४८९ जना तथा विदेशी १४ हजार ४३८ जना पर्यटक लुम्बिनी आएका थिए। विदेशी पर्यटकमा सबैभन्दा बढी थाइल्याण्डका ३ हजार ९८१, श्रीलंकाका ३ हजार ८८, म्यान्मारका २ हजार ६९२, चिनियाँ ९ सय ५५, भियतनामी ८९८, दक्षिण कोरियन ४ २९ लगायत विभिन्न ६१ मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।

आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि लुम्बिनीमा रहेको मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, विश्व शान्ति द्धिप, ठूलो घन्ट, केन्द्रीय नहर, विभिन्न देशले बनाएका बिहार तथा चैत्यहरू आकर्षणका केन्द्र हुन्। पर्यटक आगमन लुम्बिनीमा बढे पनि उनीहरूको बसाइ अवधि नबढ्दा लुम्बिनी भैरहवाका पर्यटन व्यवसायी भने खुसी छैनन्।‘यति संख्यामा पर्यटक आगमन भयो भन्ने सुन्छौं, पर्यटक आगमन बढेको छ, लुम्बिनी भित्र पनि पर्यटक धेरै देखिएका छन्। तर, बसाइ अवधि लुम्बिनीमा मुस्किलले एक दिन पनि हुँदैन’लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले भन्नुभयो।

तथ्यांक अनुसार नेपाली, भारतीय र विदेशी गरी औसतमा दैनिक ३ हजार पर्यटक आएका छन्। लुम्बिनीका होटलमा ३ हजार पर्यटकलाई बास बसाउन सक्ने क्षमता छ। तर धेरै पर्यटक फर्कन्छन्। केही बास बस्छन। बास बस्ने विदेशी पर्यटक पनि धेरै लुम्बिनी भित्रकै बिहारहरूले बनाएका गेष्ट हाउसमा बस्ने हुँदा पर्यटन व्यवसायीले अपेक्षाकृत फाइदा लिन नसेको ज्ञवालीले बताउनुभयो।

फोटो साभार-कारोबार दैनिक