आज महाशिवरात्रि तथा नेपाली सेना दिवस
2024-03-08 16:15:08CRI
Share with:

आज शुक्रबार महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजाआराधना गरी मनाइन्छ। वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन्। आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ।

यसै बीच, महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना तयार गरी दर्शनार्थीको शान्ति सुरक्षा तथा सवारी व्यवस्थापनका लागि विशेष कमान्ड पोस्ट स्थापना गरी प्रहरी र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जनाएको छ। मेलाको समयमा शान्ति सुरक्षाका लागि ९३५ महिला प्रहरी, ४३९ सादा पोसकका प्रहरी परिचालन गरिने छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आवश्यक सुरक्षाका लागि थप तीन हजार ५११ प्रहरी खटाएको प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो। मेला सुरु भएदेखि समाप्‍त नभएसम्मका सबै गतिविधिको सूक्ष्म निगरानीका लागि कमान्ड पोस्‍टमार्फत सादा पोसाकका प्रहरीका साथै ड्रोन र रिजर्भ फोर्सबाट सूक्ष्म निगरानी गरिने प्रहरीले जनाएको छ। 

आजै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाएको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना दिवस मनाएको छ। 

नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

आजै जङ्गीअड्डा, मातहतका पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरी सेना दिवस मनाइएको छ।