साढे तीन करोडको लागतमा पशुपति सेवा सदन निर्माण
2024-03-09 15:51:04CRI
Share with:

झापाको दमकमा डेढ करोडभन्दा बढीको लागत सहभागितासहित साढे तीन करोडको लागतमा सुविधा सम्पन्न पशुपति सेवा सदन भवन निर्माणको काम सम्पन्न भएको छ। झण्डै ५० प्रतिशत जनसहभागितामा निर्माण सुरु भएको १५ वर्षपछि भवन निर्माण भएर उद्घाटन भएको हो।

शिवरात्रिको अवसर पारेर शुक्रबार जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले तीन तले पशुपति सेवा सदनको उद्घाटन गर्नु भएको गोरखापत्र अनलाइनले लेखेको छ। यसको शिलान्यास बि.स. २०६४ साल फागुन २२ गते आचार्य पण्डित पुष्पलाल निरौलाले गर्नु भएको थियो। तीन करोड ५९ लाख २४ हजार १४६ रुपियाँको लागतमा पशुपति सेवा सदनको भवन बनेको हो।

विभिन्न दाताहरूबाट एक करोड ५४ लाख ९६ हजार ६५९ रुपियाँ प्राप्त भएको र बाँकी रकम संसद् विकास कोष, स्थानीय सरकारसहित विभिन्न सरकारी निकायहरूबाट प्राप्त बजेटले काम पूरा भएको जानकारी दिइएको छ। दमक नगरपालिकाका प्रमुख एवम् पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाका अनुसार ५० प्रतिशत अर्थात् डेढ करोडभन्दा बढी आर्थिक जन सहभागिता रहेको छ।

पशुपति सेवा सदनमा एक हजारसम्म मानिसहरू अटने सुविधायुक्त कार्यक्रम हलसहित एक सयभन्दा बढी बसोबास गर्न मिल्ने कोठाहरू निर्माण भएका छन्। पशुपति मन्दिरमा लगातार १८ पुराणको समेत आयोजना भइसकेको र यो पवित्रभूमि बनेकाले आउने धार्मिक पर्यटकहरूलाई बसोबास सहित खानेपीनको व्यवस्थापन गर्न आफूहरू लागिरहेको उहाँले बताउनु भएको छ।

दमकमा सुविधा सम्पन्न अतिथि सदन बनाउन भनेर महायज्ञ लगाएर केही रकम उठाइएपनि उक्त अतिथि सदन बनाउने स्थलको विवादका कारण रोकिएको थियो। त्यही समय दमक वडा नं. ६ स्थित पशुपति मन्दिर परिसर भित्र पशुपति सेवा सदन भवन निर्माणका लागि नन्दीकेशर अधिकारीको संयोजकत्वमा निर्माण समिति बनेर काम सुरु गरिएको बताइएको छ।