त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी धावनमार्ग विस्तार हुँदै
2024-03-10 15:34:11CRI
Share with:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको धावनमार्ग छुने समानान्तर ट्याक्सीवे विस्तार गर्न लागिएको छ। विस्तारका लागि निर्माणको काम सुरु भएका कारण उत्तरी क्षेत्र (बौद्ध) बाट हुने जहाज अवतरणमा तीन महिना रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी चैत १९ देखि असार १६ गतेसम्म उत्तरी दिशाबाट हुने ठुला जहाजको अवतरणमा रोक लगाइएको गोरखापत्र अनलाइनले लेखेको छ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार धावनमार्गको उत्तरी क्षेत्र (रनवे टु जिरो) मा ट्याक्सीवे जोड्ने काम गर्नुपर्ने भएकाले तीन महिनाका लागि जहाज अवतरणमा रोक लगाइएको हो। उहाँले भन्नुभयो, “धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर दक्षिण) जोड्ने ट्याक्सीवे विस्तार गर्न उत्तरी दिशाबाट हुने अवतरण रोक्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधान अनुसार एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा सूचना जारी गरिएको छ। धावनमार्गमा ट्याक्सीवे जोड्ने क्रममा धावनमार्गको लम्बाइ २३६ मिटर घट्ने भएकाले ठुला जहाजलाई धावनमार्ग नपुग्ने भएपछि अवतरणमा रोक लगाइएको हो।”

उहाँका अनुसार हाल जहाजलाई उडानका लागि धावनमार्गमा चार मिनेट जति समय लाग्दै आएको र ट्याक्सीवे विस्तारपछि उक्त लागत समय घट्ने छ। उहाँले भन्नुभयो, “अहिले प्यारालाल ट्याक्सीवे नहुँदा सबै जहाजले धावनमार्गबाट टेक अफ गर्दै आइरहेका छन्। यो समयमा अरू जहाज उडान अवतरण गर्न पाउँदैनन्। प्यारालाल ट्याक्सीवे विस्तारपछि जहाजहरू यसबाट नै उडानका लागि क्युमा जान सक्ने भएकाले यसले विमानस्थलको धावनमार्गको क्षमता थप वृद्धि हुने छ।”

प्राधिकरणको पछिल्लो नियमले निर्माण अवधिभर तीन हजार ५० मिटर लामो धावनमार्ग २३६ मिटर छोटो हुँदा एयर बस ए–३३० र बोइङ ७८७ विमान सञ्चालन गरिरहेका वायु सेवाको भारवहनमा असर पर्न सक्ने उहाँले जानकारी दिनुभयो। त्यस्तै आँखाले हेरेर गरिने भिएफआर (भिजुअल फ्लाइट रुल्स) उडान र पर्वतीय उडान प्रभावित हुने उहाँको भनाइ छ। 

प्राधिकरणले ट्याक्सीवे विस्तारको कामले विमानस्थलको उडान ओहोरदोहोरमा पर्न सक्ने असरबारे आन्तरिक र अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग छलफल गरेको थियो। सुरुमा राति ११ बजेदखि बिहान ७ बजेसम्म उडान बन्द गरेर काम गर्ने तयारी गरे पनि अन्ततः धावनमार्गको लम्बाइमध्ये तीन महिनालाई २३६ मिटर घटाएर विस्तारको काम अघि बढाउन लागिएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ २५० हाराहारीमा उडान अवतरण र बाह्यतर्फ दोहोरो एक सय हाराहारीमा उडान हुने गरेको छ। विमानस्थलबाट दैनिक करिब २३ हजार यात्रुले हवाई सेवा लिँदै आएका छन्।