नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउन सकिने बेलायती अधिकारीको ठहर
2024-03-11 16:47:17cri
Share with:

अर्थमन्त्री वर्षमान पुनसँग बेलायतको विदेश तथा कमन वेल्थ विकास कार्यालयका निर्देशक बेन मिलरले नेपालमा लगानीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। अर्थमन्त्रीमा पुन नियुक्त भएपछि शिष्टाचार भेटका लागि निर्देशक मिलर नेपालका लागि बेलायती राजदूतलगायतका अधिकारीसहित आइतबार सिंहदरबार पुग्नुभएको थियो।

निर्देशक बेन मिलरले नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो। अर्थमन्त्री पुनको सचिवालयका अनुसार भेटमा बेन मिलरले नेपालमा आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल र उपलब्धीमुलक बनाउन बेलायत सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ।

 

लगानी सम्मेलन सफल पार्न लगानीमैत्री वातावरण निर्माण, नीतिगत र प्रक्रियागत सुधार, दोहोरो करमुक्त सम्झौता तथा ‘सार्वभौम रेटिङ’ जस्ता काम पूरा गर्न मिलरले अर्थमन्त्रीसँग आग्रह गर्नुभएको थियो। जवाफमा मन्त्री पुनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताउनुभयो। आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत सुधारका काम अघि बढाइसकेको मन्त्री पुनको भनाइ थियो।

त्यस्तै, नेपाल र बेलायतबीच दुई शताब्दी पुरानो मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको पुनको भनाइ थियो। नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग उल्लेखनीय रहेको पुनको भनाइ थियो।

भेटमा नेपालका लागि बेलायती राजदूत रब फेनसहितका अधिकारी सहभागी थिए।

निर्देशक मिलरले नयाँ विकास साझेदारी कार्यक्रमअन्तर्गत बेलायत सरकारले दिने भनिएको ४ सय मिलियन पाउण्ड (करिब ६७ अर्ब रुपैयाँ) अनुदानसम्बन्धी सम्झौता कार्यान्यवन सुरु भइसकेको जानकारी अर्थमन्त्री पुनलाई दिएका थिए।