लगानी सम्मेलनमा हरित पूर्वाधारका योजनालाई समेटिने
2024-03-12 16:08:56cri
Share with:

लगानी बोर्डको कार्यालयले आगामी वैशाखको दोस्रो साता आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा दीर्घकालीन हरित पूर्वाधारका योजनालाई पाइपलाइनमा राख्ने भएको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपाल रिपब्लिक मिडियाले सोमबार आयोजना गरेको ‘नागरिक इम्प्ट्राक्ट फोरम’मा सम्बोधन गर्दै दिगो र जलवायु परिवर्तनमैत्री पूर्वाधार निर्माणका योजना पनि समावेश गर्ने तयारीमा जुटेको बताउनुभयो।

 

कार्यालयका अनुसार यीबाहेक अन्य विभिन्न खालका परियोजनासमेत समेटिनेछन् । प्रमुख कार्यकारी अधिकृत भट्टले वैदेशिक लगानीलाई आकर्षित गर्न १० वटा कानुन र दुईवटा नियमावली संशोधन गरेर अघि बढ्न लागिएको जानकारी दिनुभयो। ‘अहिले फास्ट ट्र्याकमार्फत वैदेशिक लगानी भित्र्याउन अप्ठ्यारो पार्ने गरेका ऐनहरूलाई एकमुष्ट रूपमा संशोधन गरेर अघि बढ्ने प्रयत्न भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यो सम्मेलनअघि पक्कै पनि नीतिगत तथा कानुनी सुधार गरेर विदेशी लगानी भित्रिने वातावरण बन्नेछ।’

 

लगानी बोर्डका कार्यालयका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा भि–रकका सिनियर म्यानेजिङ पार्टनर राधेश पन्तले वैदेशिक लगानीको परियोजनालाई नागरिक स्तरबाटै सहजीकरण गर्ने वातावरण तयार पार्नुपर्ने बताउनुभयो। नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले जलवायु परिवर्तनको असर नेपालमा पछिल्लो समय देखिएकाले जलवायु परिवर्तनमैत्री वैदेशिक लगानी भित्र्याउनुपर्ने बताउनुभयो। ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। त्यसैले सरकारले दिगो र भरपर्दा आर्थिक विकास गर्नेखाले योजना अघि बढाउन जरुरी भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा ऊर्जा, कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना भएकाले दिगो लगानी गरेर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।’