नेपालमा कच्चा पदार्थ आयात घट्दै
2024-03-12 16:16:45cri
Share with:

पछिल्लो समय कच्चा पदार्थका रुपमा वा पूँजीगत वस्तुका रुपमा प्रयोग हुने वस्तुहरूको आयात हिस्सा खुम्चिँदै गएको देखिएको छ ।कुल आयातमा अन्तिम उपभोग्य वस्तुको आयात बढ्दै गएको तथ्यांकले देखाएको छ । देशभित्रै उत्पादन बढाउने वा मूल्य अभिवृद्धि (भ्यालु एड) हुनसक्ने मध्यवर्ती वस्तुको आयातमा हिस्सा घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यता पूँजीगत वस्तुको हिस्सा गत वर्ष संकुचित देखिएकोमा चालु आर्थिक वर्ष (आव) मा क्रमशः सुधार देखिँदै गएको छ । परिमाणमा केही सुधार भएपनि मूल्यमा गत वर्षको तुलनामा डिजेल, पट्रोल र खाना पकाउने एलपी ग्याँसको आयातमा कमी हुँदा समेत कुल आयातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा बढ्दै गएको राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले देखाउँछ ।

 

चालु आवको सात महिना (माघसम्म) आयात भएको वस्तुहरूमा मध्यवर्ती वस्तुको हिस्सा सबैभन्दा धेरै ४९.२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आवको सोही अवधिमा  कुल आयातमा यस्तो वस्तुको  हिस्सा ५३.१ प्रतिशत र गत असारमा ५३.२ प्रतिशत रहेको थियो । आव २०७८/७९ मा कुल आयातमा मध्यवर्ती वस्तुको हिस्सा ५२ प्रतिशत थियो भने आव २०७७/७८ मा ५३.४ प्रतिशत र आव २०७६/७७ मा ४९.८ प्रतिशत थियो ।

पछिल्लो पाँच वर्षको तथ्यांकलाई तुलना गर्दा कुल आयातमा चालु आवमा कुल आयात मध्यवर्ती वस्तु आयात हिस्सा सबैभन्दा कम देखिन्छ भने अन्तिम उपभोग्य वस्तु आयात हिस्सा सबैभन्दा बढी देखिन्छ । यस्तै माघसम्म कुल आयातमा पूँजीगत वस्तु हिस्सा गत वर्षको तुलनामा केही सुधार भएर ८.९ प्रतिशत पुगेको छ । गत वर्षसम्म कुल आयातमा पूँजीगत वस्तु आयात लगातार खस्किएकोमा चालु आवमा भने नगन्य सुधार देखिएको छ । तर पनि अर्थतन्त्रका लागि आवश्यक पूँजीगत वस्तु आयात कुल आयातमा न्यून मात्रै रहेको राष्ट्र बैंकले वर्गीकरण गरेको तथ्यांकले देखाउँछ ।