बाराको सिमरामा बनेको विशेष आर्थिक क्षेत्रमा भारतीय र चिनियाँ लगानीका उद्योग
2024-03-13 16:20:07cri
Share with:

बाराको सिमरामा बनेको विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय र चिनियाँ लगानीका उद्योग सञ्चालनमा आउने भएका छन्। सेज प्राधिकरणले सिमरा सेजको ‘ए’ ब्लकमा २२ वटा उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । यीमध्ये ७ वटा भारतीय र ६ वटा चिनियाँ लगानीकर्ताले निर्माण गरिरहेका छन्। चार वटा उद्योगमा नेपाली, चिनियाँ र भारतीय कम्पनीको संयुक्त लगानी रहेको छ । यही ब्लकमा ५ वटा उद्योग भने नेपाली व्यवसायीका छन् । सबै उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण सकिएसँगै उद्योग सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ ।

 

चिनियाँ लगानीकर्ताले जुत्ता, ब्याट्री, अटो एसेम्बल, इलेक्ट्रोनिक पार्टपुर्जा र आलमुनियमका ६ उद्योग निर्माण गरिरहेका छन्। यस्तै, भारतीय लगानीमा ग्रेनाइड स्ल्याब, टायल, टायर प्रोसेसिङ र कस्मेटिक्सका ७ उद्योग बन्दैछन् । यीमध्ये केहीले निर्माण पूरा गरी परीक्षण उत्पादन सुरु गरेको सिमरा सेजका सहायक इन्जिनियर अजय चौधरीले बताउनुभयो।‘केही उद्योगमा दुवै देशका लगानीकर्ताले नेपाली उद्यमीसँग साझेदारी गरेका छन्। प्लट बुक भइसकेकाले नाम चलेका भारतीय उद्योगलाई जग्गा दिन सकिएको छैन,’ उहाँले भन्नुभयो। केही नेपाली उद्यमीले बुकमात्रै गरेर राखेका छन्। १० वटा प्लटको समय यही साता सकिने हुँदा तत्काल सूचना प्रकाशित गरी उद्योगका लागि खुला गरिने सेज प्राधिकरणले जनाएको छ।

 

भारतको गुजरातमा ५ दशकदेखि टायल उद्योग सञ्चालन गरेका अनुभवी भारतीय लगानीकर्ताले सेजमा रहेका केही टायल्स उद्योगमा नेपाली उद्यमीसँग साझेदारी गरेका छन् । सेजभित्र सञ्चालनको तयारीमा रहेको १५० करोड लगानीको पशुपति सेरामिक्सका सञ्चालक तुलसी साहले आफूबाहेक ३ जना भारतीय साझेदार रहेको बताउनुभयो।

 

कारोबार अनलाइनका अनुसार सेजभित्र मात्रै होइन, पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा स्थापना हुने गरी पछिल्लो समय एक दर्जन सेरामिक्स कम्पनीले अनुमति लिएका छन् । सेजमा चिनियाँ लगानीकर्ताले ठूलो परिमाणमा जुत्ता उत्पादन गरी निर्यात गर्न उद्योग निर्माण गर्दैछन्। चिनियाँ लगानीकर्ता फेङ छियुसो, ली झान्विन, लिउ कियालले विश्व बजारमा माग बढ्दै गएको ब्याट्री, अटो एसेम्बल, पार्टपुर्जा र इलेक्ट्रोनिक सामानका उद्योग निर्माण धमाधम गरिरहेको सेज प्राधिकरणले जनाएको छ ।

 

‘ए’ ब्लकमा रहेका ६८ वटा प्लटमा दुई वर्षभित्र कारखाना सञ्चालन गर्र्ने शर्तमा उद्योगहरुले अनुमति पाएका थिए। यी उद्योगमा ८ अर्ब ७५ करोड लगानी हुनेछ भने करिब तीन हजारले प्रत्यक्ष रोजगारी पाउनेछन् । उद्योगहरुले वार्षिक २४ अर्ब ५५ करोडको निर्यात गर्ने प्राधिकरणले जनाएको छ। उद्योग सञ्चालनका लागि चाहिने उपकरण, मेसिन, औजार, पार्टपुर्जा र कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था छ। यसैगरी प्राधिकरणले २ वर्ष निर्यात गर्नु नपर्ने, तेस्रो वर्षदेखि २० प्रतिशत, चौथो वर्षमा ४० र पाँचौं वर्षदेखि कुल उत्पादनको ६० प्रतिशत तेस्रो मुलुकमा निर्यात गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

कुल ८ सय ३३ बिघा क्षेत्रफल रहेको ५ वटा ब्लकमध्ये सेजले ‘ए’ब्लकमा प्रशासनिक भवन, दुषित पानी प्रशोधन केन्द्र, आन्तरिक सडक, ढल, खानेपानी, बैंक, बीमा, हुलाक, भन्सार, पेट्रोल पम्प, धर्मकाँटा, सुरक्षा, क्यान्टिन र विद्युतीकरण लगायतका संरचना सञ्चालनका लागि पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ। पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका सभापति सञ्जय साहले सेजमा उत्पादनको तयारीमा पुग्दै गरेका उद्योगलाई प्राधिकरणले सुरक्षा व्यवस्था गर्न ढिलो भइसकेको बताउनुभयो। सेजमा निर्माण भएको प्रशासनिक भवनमा कर्मचारी व्यवस्थापन, बैंक तथा भन्सार तत्काल व्यवस्था गर्न उद्योगीले माग गरेका छन् ।