बस्ती आउने गैंडालाई वनमा सार्दै चितवन राष्ट्रिय निकुञ्ज
2024-03-13 16:25:21cri
Share with:

वन छाडेर बस्ती आउने गरेका केही गैंडालाई चितवन राष्ट्रिय निकुञ्जले वनमा नै फर्काउने भएको छ । निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार तत्कालका लागि नवलपुर क्षेत्रबाट त्यस्ता तीनवटा गैंडा ल्याएर चितवन निकुञ्जको पूर्वी क्षेत्रमा छाड्ने तयारी छ । त्यसैगरी सौराहामा मान्छेसँग नजिक भएर डुल्ने ‘मेघौली’नामको भाले गैंडालाई कोशी टप्पु पठाउने योजना छ।

 

‘हामीले पर्सी नवलपुर क्षेत्रबाट तीनवटा गैंडा ल्याएर निकुञ्जको पूर्वी क्षेत्र कुमरोजदेखि दक्षिण निकुञ्जको कोर एरिया अमृते र चपरचुली पोष्ट आसपास छाड्दै छौं,’ सूचना अधिकारी तिवारीले भन्नुभयो। गैंडा ल्याएर छाड्ने क्षेत्रमा बास्थान सुधार र सुरक्षा प्रबन्धका कामहरू भइसकेको उहाँले बताउनुभयो। यो क्षेत्रमा गत कात्तिकमा खाल्डोमा पारेर दुईवटा गैंडा मारेर तस्करहरूले खाग पनि लगेका थिए। त्यसैले सुरक्षा प्रबन्ध सुदृढ गरेको तिवारीको दाबी छ।

 

नवलपुर देवचुलीको महाराजा सामुदायिक वनबाट एउटा र कुजौलीबाट अर्को गैंडा चितवन ल्याउन लागेको हो। यी गैंडा वनमा भन्दा बढी बस्तीमा आउने र मान्छेसँग जम्काभेट हुने खतरा बढेका कारण सुरक्षित ठाउँमा सार्न लागिएको जनाइएको छ। त्यसैगरी दिव्यपुरी क्षेत्रबाट अर्को गैंडा ल्याइनेछ। प्रदूषित पानी खाने बानी परेको गैंडाको उद्धार गर्न लागेको तिवारीको भनाइ छ।

 

तीन वर्षअघि सार्वजनिक भएको गैंडा गणनाको नतिजा अनुसार देशको तराइ क्षेत्रका विभिन्न निकुञ्ज, आरक्ष र राष्ट्रिय वनमा गरेर कुल ७५२ गैंडा छन् । त्यसमध्ये सकैभन्दा धेरै गैंडा चितवन निकुञ्ज र यस आसपासका राष्ट्रिय वन क्षेत्रमा छन्। चितवन निकुञ्जको पश्चिम क्षेत्रमा पूर्वी क्षेत्रको तुलनामा धेरै गैंडा भएको देखिएको थियो । कान्तिपुर अनलाइनका अनुसार पश्चिम क्षेत्रमा गैंडा जुधेर मर्ने घटनाहरू पनि धेरै नै हुने गरेका छन्।‘विभिन्न अध्ययनले पश्चिम क्षेत्रमा गैंडाको चाप बढेको देखाएको छ। यसो हुँदा गैंडालाई नै जोखिम थपिने हो । वन भित्रका गैंडा बाहिर कस्ती आए मान्छेमाथि आक्रमणका घटनाहरू पनि हुन्छन् । त्यसैले आन्तरिक व्यवस्थापन गर्नु पर्छ भन्ने कुरा उठ्दै आएको छ,’ सूचना अधिकारी तिवारीले भन्नुभयो। विज्ञहरूको समितिले स्थलगत अध्ययन गरेर तयार गरेको प्रतिवेदनमा ‘आन्तरिक स्थानान्तरण’का लागि पटक पटक सिफारिस गरेका थिए । त्यसैका आधारमा तत्काललाई पश्चिमबाट तीनवटा गैंडा ल्याउन लागेको तिवारीले बताउनुभयो।

 

त्यसैगरी अर्को पटक थप तीनवटा गैंडा पश्चिमबाट पूर्व ल्याउने योजना पनि रहेको उहाँको भनाइ छ । चितवनबाट पटक पटक गरेर बर्दिया र शुक्लाफाँटामा गैंडाहरू लगिएको छ। त्यसै गरी गएको असोजमा कोशी टप्पुमा पनि दुईवटा बच्चा गैंडा चितवनबाट पठाइएको थियो । ति गैंडा सानैमा उद्धार गरेर सौराहामा मान्छेको रेखदेखमा हुर्केका थिए ।

 

कोशीमा चितवनबाट ‘मेघौली’ नाम गरेको अर्को भाले गैंडा पनि पठाउने तयारी छ। असोजमा पठाएका दुवै गैंडा पोथी हुन्। ‘मेघौली’ जंगलमा बस्न नै मान्दैन । सौराहा बजार क्षेत्र र खेत र टोलमा डुल्ने गर्दछ । जसका कारण मान्छेहरू यो गैंडाको नजिकै गएर झुम्मिने, फोटो खिच्ने र उस्तैले छुने जिस्काउने गरेर हैरान पारेका छन् ।

चितवनमा पाइने ‘ठूलो एकसिंगे गैंडा’ विश्वबाट लोप हुने खतरामा रहेको दुर्लभ वन्यजन्तु हो । त्यसैले सरकारले संरक्षणका लागि कडा कानुन बनाएको छ । गैंडा मारेमा, यसको अंगको कारोबार गरेमा वा ओसार पसार गरेमा पनि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । अर्को तर्फ गैंडासँग जम्काभेट हुँदा आक्रमणमा परेर निकुञ्ज र आसपासमा वर्षेनी मान्छेको मृत्यु र अंगभंग हुने घटना पनि भइरहेका छन्।