जलवायुजन्य जटिलतालाई सम्बोधन गर्न बृहत रणनीति आवश्यकः प्रधानमन्त्री
2024-03-14 16:37:15cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक पर्ने बताउनुभएको छ। ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यकतामा जोड दिनुभएको हो।

 

‘यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ, यसले स्थानीयस्तरका लागि विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ।’

 

जलवायु परिवर्तनको असर पृथ्वीका हरेक कुनामा देखापरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू समाज, स्वास्थ्य र प्राकृतिक वातावरणलाई असर गरेको बताउनुभयो। पहिरो, बाढी, वनजङ्गलमा हुने आगलागी, हिमताल बिस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको उहाँले बताउनुभयो।

 

दुबईमा सम्पन्न कोप-२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले विकसित अर्थतन्त्रहरूले अत्यावश्यक स्रोत र प्रविधिका माध्यमबाट अनिवार्यरूपमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।