आगामी बजेटमा शान्ति कोषको व्यवस्था गरिँदै
2024-03-15 16:50:32cri
Share with:

सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने भएको छ।

 

अनलाइनखबरका अनुसार अर्थमन्त्री वर्षमान पुनले यसबारे बिहीबार जानकारी गराउनुभएको हो। स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आवमा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी पनि दिनुभयो। आफू १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको उहाँको भनाइ छ।

 

बजेटमा आफूले संक्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति कोषको व्यवस्था गर्न लागेको समेत उहाँले जानकारी गराउनुभयो। त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह उहाँले गर्नुभयो।

 

‘हामीले अमेरिका, बेलायतसहित विभिन्न मुलुकसँग सहयोगको प्रस्ताव राखेका छौं,’ उहाँले भन्नुभयो, ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ । स्वीस सरकारका तर्फबाट पनि यसमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौं ।’