‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
2024-03-15 16:48:14cri
Share with:

पोखराको प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा गरिने भएको छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगको अग्रसरतामा चैत ४ गते आइतबार हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तय भएको छ। नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन्। धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ।

 

०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न सङ्घ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो।

पोखरा महानगरका प्रमुख धनराज आचार्य पर्यटकीय राजधानी घोषणापछि पोखरा, आसपासका पालिका र प्रदेश सरकारले त्यसलाई कार्यान्वयन गर्न नीतिगत र बजेटसमेत व्यवस्था गर्ने बताउनुहुन्छ। “बारम्बार अनुरोध गर्दा पनि सङ्घ सरकारले घोषणा नगरेपछि हामीले गर्न लागेका हौँ। प्रदेश सरकार र हामी मिलेर यसलाई कार्यान्वयन गर्छौँ,” उहाँ भन्नुहुन्छ, “आउँदा नीति, कार्यक्रम र बजेटमा पनि प्राथमिकतामा पर्छ।”प्रधानमन्त्रीबाट घोषणा भएपछि यसलाई कार्यान्वयनका लागि सङ्घ सरकारको समेत यथोचित साथ मिल्ने उहाँको विश्वास छ ।

 

पर्यटकीय राजधानी घोषणापछि अल्पकालीन, माध्यमकालीन र दीर्घकालीन योजना बनाएर यसलाई कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले सुझाएको छ। प्रतिवेदनले घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकास र प्रवर्धनका कार्यक्रम गर्दै जानुपर्नेछ।

गोरखापत्र अनलाइनका अनुसार समितिले २० बुँदामा विभिन्न सुझाव दिएको छ। अध्ययन समिति संयोजक एवम् प्रदेश नीति तथा योजना आयोगका प्रमुख डा. कृष्णचन्द्र देवकोटा प्रतिवेदनले आवश्यक भौतिक पूर्वाधारदेखि सबै विषय समेटेको उल्लेख गर्नुभयो। 

 

पोखराका पर्यटनका सङ्घ, संस्था, स्थानीय सरकार र व्यवसायीले पर्यटकीय राजधानी घोषणा गर्न माग गरेको लामो समय भइसकेको छ । पोखरामा हुने पर्यटकीय गतिविधि, प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधता सम्पदालाई मध्यनजर गरी पर्यटकीय सहर घोषणा गरिने उचित भएको बताउनहुन्छ पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ।

 

प्रतिवेदनले यहाँ पर्यटन क्षेत्रमा प्रशस्त लगानी भएको, प्राकृतिक सौन्दर्य, जैविक विविधता, अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटनको केन्द्र बनेको औँल्याएको छ । पोखरालाई पर्यटनको केन्द्र बनाउँदै प्रदेशका अन्य स्थानलाई उपकेन्द्र बनाएर पर्यटन क्षेत्रको विकास र त्यस लाभ वितरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

पर्यटकीय राजधानी घोषणा पछि प्रदेशका सबै स्थानीय तह, सङ्घ, संस्था, नागरिक समाज लगायतले त्यसलाई स्वागत गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता गर्ने छन्। केही पोखरेली भने घोषणाले साङ्केतिक अर्थ राखे पनि पूर्वाधार निर्माण, प्रकृति संरक्षण, विदेशमा प्रवर्द्धन जस्ता  कार्य नगरी गरिने घोषणाले ठुलो अर्थ नराख्ने बताउँछन्। पोखरा महानगरले पर्यटकीय सम्पदाबाट लाभ लिन सकेको छैन।

 

फेवा र बेगनास ताल चल्ने ढुङ्गाबाट महानगरले कर लिन सकेको छैन भने गुप्तेश्वर गुफा, डेभिज फल, महेन्द्र गुफा, चमेरे गुफा जस्ता पर्यटकीय सम्पदाको आम्दानी विद्यालय र विभिन्न सङ्घ, संस्थाले लिने गरेका छन्।