हात्ती तथा पर्यटन महोत्सव सन्तोषजनक
2024-03-16 16:28:12cri
Share with:

चितवनको सौराहामा आयोजना गरिएको चितवन हात्ती तथा पर्यटन महोत्सवको आयव्याय सार्वजनिक गरिएको छ। क्षेत्रीय होटल संघ चितवन सौराहाले गत पुस १० गते देखि १४ गतेसम्म हात्ती तथा पर्यटन महोत्सव गरेको थियो।

 

कारोबार अनलाइनका अनुसार चितवनको पर्यटन विकासको लागि उक्त महोत्सव आयोजना गरिएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष माधव दुवाडीले महोत्सवको आम्दानी खर्च सार्वजनिक गरेका थिए । महोत्सवमा ७८ लाख ८२ हजार आम्दानी भएको र ५५ लाख ३८ हजार खर्च भई २३ लाख ४३ हजार मुनाफा भएको कोषाध्यक्ष दुवाडीले जानकारी दिनुभयो।

 

सोमध्ये महोत्सवमा स्थानीय सरकार सहित विभिन्न संघसंस्थाले कबुल गरेको ४७ लाख ४० हजार उठ्न बाँकी रहेको छ । संघले महोत्सवकै एक लाख ८३ हजार तिर्न बाँकी रहेको जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले चितवनको पर्यटन विकासलाई उचाइमा पुर्‍याउन सफारी पर्यटनको महत्वबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्नुपर्नेमा जोड दिनुभयो।