जोडी डल्फिन देखिएपछि संरक्षणका लागि चासो
2024-03-16 16:29:38cri
Share with:

नारायणी नदीमा एक जोडी डल्फिन देखिएको छ। नारायणी नदीमा पहिला देखिने गरेको डल्फिन पछिल्ला वर्षहरुमा आक्कल झुक्कल निस्कने गर्दथ्यो। चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुके शनिबार बिहान नदी किनारमा डुल्दै गर्दा अचानक दुईटा डल्फिन देख्नुभयो र एउटा डल्फिन भिडियोमा पनि कैद गर्नुभयो।

२५ सेकेन्ड जतिको भिडियोमा चार सेकेन्ड तिर एउटा डल्फिन उफ्रँदै पानी माथि निस्केको पनि देखिन्छ । नदीमा देखिएको यस्तो दुर्लभ जीवलाई जोगाउन सबैले ध्यान दिनु जरूरी छ। ‘यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ । नदीमा माछा मार्न र मोटरबोटको कोहलाहल रोक्न पहल गर्न आवश्यक छ,’ चुकेले भन्नुभयो।

चितवन निकुञ्जको स्थापनाकाल (विस२०३०)देखि नै कार्यरत रहेर निकुञ्जका अवकास प्राप्त पूर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादव नारायणगढ क्षेत्रमा नै डल्फिन देखिएको हो भने यो निकै ठूलो कुरा भएको बताउनुहुन्छ।

 

कान्तिपुर अनलाइनका अनुसार पछिल्ला वर्षहरुमा नारायणी नदीमा नै डल्फिन देखिन एकदम कम भएको थियो । घडियाल गोहीको अनुगमन र अण्डा संकलनका लागि निकुञ्जका पूर्व संरक्षण अधिकृत बेद खड्काले नदी डुल्दै गर्दा ६६ सालसम्म लगातार जसो डल्फिन देखेपनि २०६७, ६८ र ६९ सालमा त्यता तिर डुंगा चढेर जाँदा डल्फिन देखिएन। कतै नारायणीमा डल्फिन लोप भयो कि क्या हो भन्ने डर संरक्षणकर्मीलाई लाग्न थालेको थियो ।

तर ७० सालपछि फेरि लगातार जसो देखिएको छ । तर बढीमा दुईवटाभन्दा अरु डल्फिन देखिएको छैन। डल्फिन पानीमा बस्ने तर अण्डा हैन बच्चा नै जन्माउने जीव हो। त्यसैले यो मानवसँग निकै निकट छ। मान्छे देख्दा रमाउने जीव हो।