आर्थिक वृद्धि हुने क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस्: अर्थमन्त्री पुन
2024-03-17 17:55:31cri
Share with:

अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिनुभएको छ। आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठुला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । विगतमा ठुला ऋण लगानी गर्दा भएका कमी कमजोरीलाई भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धतासहित अघि बढ्न सुझाव दिनुभयो ।

 

लगानी कोषले गरेका लगानीहरूमा लगानीकर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताउनुभयो । उहाँले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताउनुभयो । उहाँले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताउनुभयो । उहाँले विगतमा भएका कामको आलोचना गर्नेभन्दा भएका कमजोरीहरूलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने बताउनुभयो । पूर्ववर्ती अर्थमन्त्रीहरूले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताउनुभयो । उहाँले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । उहाँले प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको बताउनुभयो । उहाँले प्रशासन संयन्त्रको शुद्धीकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताउनुभयो।अर्थमन्त्री पुनले विगतका राम्रा कामको सम्मान गर्दै भएका कमजोरीलाई सच्याएर अघि बढ्न सक्नुपर्ने बताउनुभयो।