पोखराको नयाँ नामले व्यवसायी उत्साहित
2024-03-18 15:59:33cri
Share with:

पोखराले आइतबारदेखि ‘पर्यटन राजधानी’को नयाँ नाम पाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मार्च १७ तारिख आइतबार आयोजित कार्यक्रममा पोखरा मुलुककै पर्यटन राजधानी भएको घोषणा गर्नु भएको कारोबार अनलाइनले लेखेको छ। बाराही घाटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पर्यटन राजधानीका रुपमा पोखरालाई घोषणा गर्दै यो क्षेत्रको विकासमा सरकारको विशेष ध्यान जाने बताउनुभयो।

आगामी बजेटमा पोखराले उच्च प्राथमिकता पाउने उहाँको भनाइ थियो। पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि सम्बद्व पक्षसँग सरकारले पहल गर्ने प्रतिवद्वता उहाँले व्यक्त गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजधानी घोषणाले पोखरामा बाह्य तथा आन्तरिक लगानीका लागि वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो। पोखराको समुन्नतिका लागि तीनै तहका सरकार, निजी क्षेत्र र अन्य विकास साझेदारसँग सहकार्य गर्न सके थप प्रभावकारी हुने उहाँको भनाइ थियो। राजधानी घोषणाले पोखरामात्र नभई गण्डकी प्रदेश र नेपालकै पहिचान अन्तराष्ट्रिय स्तरसम्म पुग्ने दाबी उहाँले गर्नुभयो।

गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटन राजधानी घोषणा गर्न सात वर्षदेखि पहल हुँदै आएको थियो। प्रदेश सरकार स्थापना भएदेखि नै पोखरा महानगर, प्रदेश र संघीय सरकारको संयुक्त आयोजनामा पर्यटन राजधानी घोषणाको केही गृहकार्य र तयारी भए पनि संघीय सरकार सकारात्मक नहुँदा रोकिएको थियो।

नेपाल आउने पर्यटकको ठूलो हिस्सा पोखरा आउने गरेको छ। पोखरा सुन्दर र प्राकृतिक छटाले भरिएको सहर हो। यहाँका हरेक गल्ली र चोकबाट सिधै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि उडान हुन नसक्दा चिन्ता थपिएकोमा यो घोषणाले आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने अपेक्षा गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो। यो क्षेत्रको पर्यटन पूर्वाधारमा करिब ७ खर्ब लगानी भएको उल्लेख गर्दै उहाँले त्यसको सुरक्षासहित थप लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

पर्यटन व्यवसायी हरिप्रसाद पौडेलले यो घोषणाले तत्काल केही फाइदा नदेखिए पनि आगामी दिनमा नयाँ योजना बन्ने र स्वदेश तथा विदेशमा यसको सन्देश प्रवाह हुने बताउनुभयो। यातायातको कनेक्टिभिटीले पोखराको पर्यटनमा ठूलो महत्व राख्ने बताउँदै उनले यसमा राज्यको विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। प्राकृत पोखराका लेखक मुकुन्दशरण उपाध्यायले पोखरामा सिधा अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने बताउनुभयो। ६ दशक अघिदेखि पोखरालाई पर्यटनको राजधानी बनाउनुपर्छ भनेर आफूले भन्दै आएको उहाँले स्मरण गर्नुभयो।