पाटनमा चिनियाँ दुई अधिवेशनसम्बन्धी फोटो प्रदर्शनी
2024-03-18 15:54:21cri
Share with:

नेपालमा ‘आर्थिक अवसरको खोजी : चीनको अर्थतन्त्रको सन्दर्भमा नेपालको विकास’ शीर्षकको एकदिने फोटो प्रदर्शनी पाटनमा मार्च १७ तारिख आइतबार सम्पन्न भएको छ। फ्रेन्ड्स अफ सिल्क रोड क्लब–नेपालले आयोजना गरेको कार्यक्रममा चीनको वार्षिक सत्र राष्ट्रिय जन कंग्रेस र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका सम्पन्न दुई अधिवेशन २०२४ का मुख्य आकर्षणहरू प्रदर्शन गरिएको द राइजिङ नेपाल अनलाइनले लेखेको छ।

सन् २०२४ मा जनवादी गणतन्त्र चीनको स्थापना भएको ७५ औँ वार्षिकोत्सवका रूपमा यस वर्षको दुई अधिवेशनको विशेष महत्त्व रहेको छ। कार्यक्रमको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले दुई अधिवेशनको महत्व र चीनको उदयले नेपालको आर्थिक विकास र समृद्धिका लागि अवसर खडा गरेकोमा जोड दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास र क्रान्ति पुस्ताका दूरदर्शी चिनियाँ नेताहरूले आफ्ना जनतालाई अभूतपूर्व विकास चमत्कार सृजना गरेको स्मरण गर्दै मैनालीले चीनको उदय नेपालसहित अन्य देशका लागि पनि प्रेरणादायी हुन सक्ने बताउनुभयो। उहाँले सबै राष्ट्रको साझा विकासलाई प्रवर्द्धन गर्ने चीनको निरन्तर प्रतिबद्धताको पनि प्रशंसा गर्नुभयो।

उहाँले नेपाली दल र नेताहरुलाई बहुदलीय प्रतिस्पर्धा भन्दा पनि बहुदलीय सहकार्यको अभ्यास गर्न सुझाव दिनुभयो। सो अवसरमा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले चीनको शीर्ष व्यवस्थापिका र शीर्ष राजनीतिक सल्लाहकार निकायका प्रमुख उपलब्धिहरूबारे जानकारी दिनुभयो। उत्तरी छिमेकीले उच्च गुणस्तरीय विकासको प्रवद्र्धन गरिरहेको विषयमा जोड दिँदै पौड्यालले नेपालले बहुआयामिक क्षेत्रमा फाइदा लिन सक्ने सुझाव दिनुभयो।

विगतमा दुई अधिवेशनलाई नजिकबाट हेर्दाको अनुभव साझा गर्दै पूर्वराजदूत पौड्यालले नवीकरणीय ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, पर्यटनलगायतका क्षेत्रमा नेपालका लागि अपार सम्भावना रहेको बताउनुभयो।

उहाँले बेल्ट एन्ड रोड इनिसिएटिभले नेपालको आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। पाटन दरबार स्क्वायरमा आयोजित एकदिने तस्बिर प्रदर्शनीमा विभिन्न क्षेत्रका व्यक्ति तथा सर्वसाधारणले देखेका ३० भन्दा बढी तस्बिरहरू प्रदर्शन गरिएको थियो।