आठ महिनामा चार लाख एकहत्तर हजार नेपालीको श्रम स्वीकृति
2024-03-18 16:07:54cri
Share with:

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको सङ्ख्या करिब पाँच लाख पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको गोरखापत्र अनलाइनले लेखेको छ। 

यो सङ्ख्या गत आवको सो अवधिभन्दा १३ प्रतिशतले कम हो। सो अवधिमा पाँच लाख ४० हजार छ सय नेपाली श्रम स्वीकृति लिएर रोजगारका लागि बिदेसिएका थिए। चालु आवमा सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन्।

यो वर्ष नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स (युएई) भएको छ। युएईका लागि एक लाख २० हजार १६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलोमा पर्दै आएको छ। दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ। 

अघिल्लो वर्ष चौथो श्रम गन्तव्य रहेको कतार यस पटक दोस्रो स्थानमा छ। यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएर बिदेसिएका छन्। 

यस्तै तेस्रो र चौथो श्रम गन्तव्य देशमा क्रमशः साउदी अरब र मलेसिया छन्। साउदी अरब जानका लागि ९१ हजार ९२९ जनाले श्रम स्वीकृति लिएका छन् भने चौथो मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै यस अवधिमा दक्षिण कोरियाका लागि नौ हजार ५५२ जनाले लिएका छन्। 

विभागका अनुसार चालु आवका आठ महिनामध्ये कात्तिकबाहेक अन्य महिनामा रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दा माथि छ। कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँतिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या कम भएको हो। फागुनमा ६५ हजार ६५८ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। विभागका महानिर्देशक डण्डुराज घिमिरेले चालु आवको सुरुदेखि नै युएई नेपालीको पहिलो श्रम गन्तव्य बन्न सफल भएको बताउनुभयो। 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण दरमा पनि वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको सात महिना (माघ मसान्त) सम्म आठ खर्ब ३९ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ। 

यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ। यो वर्षको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ। 

गत आव सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ। अघिल्लो आव २०७८/७९ मा छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए।   

विभागका अनुसार यो नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या हो। यो सङ्ख्या अघिल्लो आव २०७९/८० को तुलनामा कम भए पनि यस वर्ष सुरुवाती महिनाको तुलनामा भने मङ्सिर र पुसमा उच्च दरले बढेको देखिएको छ।