अर्थतन्त्र सङ्कटमा नरहेको नेपालका अर्थमन्त्रीको भनाइ
2024-03-18 16:06:11cri
Share with:

नेपालका अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको बताउनुभएको छ। नागरिक लगानी कोषको मार्च १७ तारिख आइतबार काठमाडौँमा आयोजित ३४ औँ वार्षिकोत्सवका अवसरमा उहाँले अर्थतन्त्र सङ्कटमा नरहेको स्पष्ट पार्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। 

एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह राम्रो रहेको उहाँले बताउनुभयो। अर्थमन्त्री पुनले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ। अब बिस्तारै लगानी पनि बढ्छ।” अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र सङ्कट बाहिर रहेको उहाँको भनाइ थियो। बैङ्किङ तरलता बढेर बैङ्कहरू लगानीको क्षेत्र खोजिरहेकोप्रति ध्यानाकर्षण गर्दै उहाँले पछिल्लो समय धितोपत्र बजारमा सकारात्मक सङ्केत देखिएको दाबीसमेत गर्नुभयो।  अर्थतन्त्रमा केही शिथिलता भने रहेको उहाँको भनाइ थियो।विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको चर्चा गर्दै अर्थमन्त्री पुनले नेतृत्वले सङ्कटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्ने धारणा राख्नुभयो।

अर्थमन्त्री पुनले ६० लाख जनसङ्ख्या संलग्न धितोपत्र बजारमा सुधारका लागि आफूले सरोकारवालासँग सुझाव मागेको र सुझावहरू प्राप्त भइरहेको जानकारी दिनुभयो। विगतमा अर्थतन्त्र सङ्कटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउने गरी मन्त्रालय र नियामक निकायबिच छलफल चलिरहेको अर्थमन्त्री पुनले जानकारी दिनुभयो।

नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठुला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न पनि अर्थमन्त्री पुनले आग्रह गर्नुभयो। कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्नेमा उहाँको जोड थियो।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले बचत परिचालन गरी राष्ट्रिय पुँजी निर्माणको आधार तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कोषले आफ्नो व्यवसाय विस्तार, प्रतिफलयोग्य लगानी, जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा योजनाबद्ध ढङ्गले काम गरिरहेको उहाँको भनाइ थियो।

कार्यकारी निर्देशक कार्कीले लगानीलाई विविधीकरण गर्ने, जोखिम विश्लेषण गर्दै प्रतिफलयोग्य क्षेत्रमा लगानी विस्तार गर्ने, राज्यले प्राथमिकतामा राखेका पूर्वाधारका क्षेत्रमा लगानी बढाउने, कोषका कामलाई थप प्रविधिमैत्री बनाउने र सेवा प्रवाहलाई सहज बनाउँदै लैजाने गरी काम गरिरहेको जानकारी गराउनुभयो।

वैदेशिक रोजगारीमा रहेका नागरिकलाई कोषका कार्यक्रममा आबद्ध गराउन अध्ययन सुरु भएको कार्यकारी निर्देशक कार्कीले बताउनुभयो। कार्कीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात दुई खर्ब ४० अर्ब ५१ करोड रुपियाँ र दुई खर्ब ३५ अर्ब पाँच करोड रुपियाँ लगानी गरेको छ।

कोषमा नेपाल सरकारको २३ प्रतिशत स्वामित्व छ। राष्ट्रिय जीवन बिमा कम्पनीको ३१ प्रतिशत, नेपाल स्टक एक्सचेन्जको १० प्रतिशत, अरू बैङ्क तथा वित्तीय संस्थाको १५ प्रतिशत र बाँकी सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व रहेको छ।