यो वर्ष नेपालमा जग्गा कारोबार सामान्य
2024-03-19 15:39:02cri
Share with:

चालु आर्थिक वर्षको सुरुमा आशलाग्दो देखिएको नेपालको जग्गा कारोबार र राजस्व संकलन यो वर्ष पनि निराशाजनक देखिएको छ। साउन, भदौ र असोजमा उतावचढाव रहेको जग्गा कारोबार र राजस्व संकलन कात्तिकदेखि उकालो लागे पनि गत आवभन्दा फरक नदेखिएको कारोबार अनलाइनले लेखेको छ।

गत आवको साउनदेखि फागुनसम्म जग्गाको राजस्व तुलना गर्दा चालु आवको सोही अवधिमा १२ करोडमात्र बढी संकलन भएको छ। गत आवमा जग्गा कारोबारमा देखिएको मन्दी यो वर्ष चलायमान हुने अपेक्षा गरिए पनि फागुनसम्मको तथ्यांकले विगत वर्षजस्तै रहने देखिएको छ। गत वर्ष जग्गा कारोबारमा मन्दी आउँदा समग्र आर्थिक क्रियाकलापमा नै असर परेको थियो।

सरकारले जग्गाको कित्ताकाट खुलाए पनि देशभरका मालपोत कार्यालयमा कारोबार सामान्यमात्र बढेको देखिन्छ। यसबाट उठ्ने राजस्व भने समानजस्तै छ। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकमा गत वर्षभन्दा कारोबार भने बढेको देखिएको छ। गत आवको फागुनसम्म ८ लाख १० जग्गा कारोबार भएकोमा यो वर्ष १० लाख ६ हजार पुगेको छ।

यसबाट उठ्ने राजस्व भने १२ करोडमात्र वृद्धि भएको छ। चालु आवको माघसम्म १० लाख ६ हजार जग्गा कारोबार हुँदा २५ अर्ब २१ करोड राजस्व संकलन भएको छ। गत आवको सोही अवधिमा ८ लाख १० हजार कारोबार हुँदा २५ अर्ब ९ करोड राजस्व संकलन भएको थियो। गत आवको तुलनामा चालु आवमा कारोबार वृद्धि भए पनि राजस्व संकलन भने सामान्य बढेको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ।

विभागका महानिर्देशक विदुरप्रसाद खनालले यो वर्षबाट जग्गाको कारोबार र राजस्व संकलन वृद्धि हुने अपेक्षा गरिए पनि व्यावसायिक कारोबारभन्दा साना कारोबार बढी हँदा राजस्व संकलन सोचेअनुसार हुन नसकेको बताउनुभयो। गत आवको तुलनामा कारोबार वृद्धि भए पनि राजस्व संकलन सामान्यमात्र वृद्धि भएको उहाँले जानकारी दिनुभयो।

चालु आवको पहिलो ८ महिनामा जग्गा कारोबार र राजस्व संकलन सामान्यमात्र वृद्धि भएका कारण यो वर्ष पनि कारोबार राम्रो नहुने देखिएको व्यवसायीको भनाइ छ। सरकारले कित्ताकाटको दायरालाई सहज बनाएपछि कारोबार र राजस्व वृद्धि हुँदा आर्थिक क्रियाकलाप पनि सामान्य हुने अपेक्षा गरेका व्यवसायी निरास देखिएका छन्। तथ्यांकमा जस्तो फिल्डमा व्यवसाय सोचेअनुसार बढ्न नसकेको व्यवसायीको भनाइ छ।

जग्गा कारोबार र त्यसबाट संकलन हुने राजस्वमा कमी आएपछि सरकारले साउनबाट जग्गाको कित्ताकाट खुला गरेको थियो। हाल देशभर ३ खर्ब रुपैयाँ रियलस्टेट क्षेत्रमा ऋण लगानी छ। यसको दोब्बर लगभग ५ खर्ब व्यवसायीको लगानी छ। पछिल्लो समय घरजग्गामा लगानी बढेर ८ खर्ब पुगे पनि कारोबार बढ्न नसक्दा समग्र अर्थतन्त्रमा नै असर परेको छ।