नेपालमा जीडीपीको तुलनामा कर्जा लगानी २७ प्रतिशतभन्दा बढी
2024-03-19 15:37:45cri
Share with:

नेपालमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २७ प्रतिशत विन्दुले बढेको छ। राष्ट्र बैंकले पहिलो पटक सार्वजनिक गरेको पछिल्लो ४ वर्षको वित्तीय सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको कारोबार अनलाइनले लेखेको छ।

२०८० असारसम्ममा वित्तीय क्षेत्रको कर्जा लगानी जीडीपीको १२७.३ प्रतिशत हुन आएको हो। वित्तीय क्षेत्र सर्वेक्षणमा केन्द्रीय बैंक, निक्षेप संकलन गर्ने बैंक तथा वित्तीय संस्थाहरु (क, ख र ग वर्ग) र गैरबैंकिङ वित्तीय संस्थाको एकीकृत विवरण समावेश गरिएको प्रतिवेदनमा उल्लेख छ। अध्ययन प्रतिवेदनमा राष्ट्र बैंकको नियमनमा नपर्ने सहकारी भने समेटिएका छैनन्।

वित्तीय क्षेत्र सर्वेक्षण तयार गर्दा जीडीपी ५३ खर्ब ८१ अर्बलाई आधार मानिएको छ। प्रतिवेदनअनुसार गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको मात्रै कर्जा लगानी जीडीपीको ९०.६५ प्रतिशत थियो। त्यसैगरी अन्य वित्तीय संस्थाको मात्र कर्जा लगानी ३४ प्रतिशत रहेको छ।

सर्वेक्षणअनुसार पछिल्लो ४ वर्षमा वित्तीय क्षेत्रको कर्जा लगानी निरन्तर बढ्दै गएको छ। २०७७ असार मसान्तमा जीडीपीको ११.३ प्रतिशत कर्जा लगानी गरेको वित्तीय क्षेत्रले २०७८ मा १२५.३ प्रतिशत पुर्याएको छ। त्यसैगरी २०७९ असारमा १२७.८ प्रतिशत कर्जा लगानी रहेकोमा गत असारमा १२७.३ प्रतिशत पुगेको हो।

जीडीपीमा निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी १०७.७ प्रतिशत रहेको छ भने तरल सम्पत्तिमा ९९.९ प्रतिशत दाबी रहेको सर्वेक्षणमा उल्लेख छ। त्यसैगरी वित्तीय क्षेत्रको डिमाण्ड डिपोजिट जीडीपीको ७.७ र अन्य निक्षेप ८२.९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०७९ असार मसान्तमा ११ खर्ब ४९ अर्ब रहेकोमा २४.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ५२ अर्ब पुगेको छ। वित्तीय क्षेत्रको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १३ खर्ब ७० अर्ब र २०७७ असार मसान्तमा १३ खर्ब २६ अर्ब थियो। वित्तीय क्षेत्रको आन्तरिक दाबी २०७९ असार मसान्तमा ६३ खर्ब ५ अर्ब रहेकोमा ८.६ प्रतिशतले वृद्धि भई ६८ खर्ब ५० अर्ब पुगेको छ। वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ५४ खर्ब ५३ अर्ब र २०७७ असार मसान्तमा ४३ खर्ब २९ अर्ब थियो।

वित्तीय क्षेत्रको सरकारमाथिको खुद दाबी २०७९ असार मसान्तमा ७ खर्ब ५३ अर्ब रहेकोमा ३५.८ प्रतिशतले वृद्धि भई १० खर्ब २३ अर्ब पुगेको छ। यो रकम २०७८ असार मसान्तमा ५ खर्ब ९५ अर्ब र २०७७ असार मसान्तमा ४ खर्ब ६५ अर्ब थियो। वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०७९ असार मसान्तमा ५५ खर्ब २० अर्ब रहेकोमा ५.० प्रतिशतले वृद्धि भई ५७ खर्ब ९४ अर्ब पुगेको छ। वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ४८ खर्ब २१ अर्ब र २०७७ असार मसान्तमा ३८ खर्ब २७ अर्ब थियो।

वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०७९ असार मसान्तमा ५ खर्ब २ अर्ब रहेकोमा १.१ प्रतिशतले वृद्धि भई ५ खर्ब ८ अर्ब पुगेको छ। यस्तो मुद्रा २०७८ असार मसान्तमा ५ खर्ब ६६ अर्ब र २०७७ असार मसान्तमा ४ खर्ब ८५ अर्ब थियो। त्यसैगरी अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति २०७९ असार मसान्तमा १ अर्ब ७० करोडले ऋणात्मक रहेकोमा गत असारमा ५ अर्ब ५२ करोडले ऋणात्मक रहेको छ। अन्य वित्तीय संस्थाको यस्तो सम्पत्ति २०७८ असार मसान्तमा १ अर्ब १८ करोड र २०७७ असार मसान्तमा २ अर्ब १ करोडले ऋणात्मक थियो।

अन्य वित्तीय संस्थाको केन्द्रीय बैंक र निक्षेप परिचालन गर्ने बैंक तथा वित्तीय संस्थामाथिको दाबी (नगद, माग तथा अन्य निक्षेप र अन्य लगानीलगायत दाबीसमेत) २०७९ असार मसान्तमा ८ खर्ब ३२ अर्ब रहेकोमा ७.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ९६ अर्ब पुगेको छ। अन्य वित्तीय संस्थाको यस्तो दाबी २०७८ असार मसान्तमा ६ खर्ब १ अर्ब र २०७८ असार मसान्तमा ७ खर्ब ३८ अर्ब थियो।