चिनियाँ कम्पनीले निर्माण गरिरहेको सिद्धबाबा सुरुङमार्गले नागरिकमा पलाएको आशा
2024-03-19 15:35:45cri
Share with:

नागरिकलाई सताइरहेको सिद्धबाबा सडक खण्डमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको सुरुङ मार्गले सर्वसाधारण नागरिक उत्साहित भएका छन्। सबैभन्दा जोखिम क्षेत्रमै सुरुङ मार्ग निर्माण भएपछि चालक र यात्रुहरू उत्साहित भएका हुन्। ‘सुरुङमार्ग निर्माणको काम समयमै पूरा हुनुपर्छ’, पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अध्यक्ष दधिराम खरेलले भन्नुभयो, ‘डराएर यात्रा गर्ने यात्रुलाई बन्दै गरेको सुरुङ मार्गले आत्मबल बढाएको छ। यो चालकलाई मात्र नभएर पैदल यात्रीका लागि पनि त्रासको सडक हो।’

उहाँले सिद्धबाबा सडक क्षेत्रमा माथिबाट ढुंगा खस्ने र पहिरोको धेरै जोखिम खेप्नुपरेको बताउनु भएको अन्नपूर्ण पोष्ट अनलाइनले लेखेको छ। पश्चिम नेपालअन्तर्गतका सवारीसाधन पाँच/पाँच मिनेटको अन्तरमा यसै सडक भएर विभिन्न जिल्लामा छुट्ने गरेको उहाँले जानकारी दिनुभयो।

एक हजार १ सय २६ मिटर लम्बाइको सुरुङमार्ग निर्माणको ठेक्का ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ ले लिएको छ। हालसम्म १० प्रतिशत निर्माणको काम पूरा भइसकेको सिद्धबाबा सुरुङमार्ग परियोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो। उहाँका अनुसार परियोजनाको कुल लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ। पाँच वर्षभित्र निर्माणको सबै काम पूरा गर्नेगरी २०७८ साल फागुनमा परियोजनाको सम्झौता भएको थियो। सुरुङ मार्ग निर्माणका लागि स्विस सरकारले सहयोग गरेको छ। 

सुरुङमार्गका साइट इन्जिनियर श्रृजेश पौडेलका अनुसार सुरुमार्ग क्षेत्र बाहेक माथिल्लो र तल्लो सिद्धबाबा क्षेत्रको बुटवलतर्फ ९ सय ४ र पाल्पातर्फ १ हजार ४ सय ९४ मिटर सडकको समेत स्तरोन्नति गर्ने योजना छ। ‘पहिरो खस्ने क्षेत्रमा सडकमाथि छत (रक सेड) लगाउँदै छौँ’, पौडेलले भन्नुभयो, ‘त्यसपछि माथिको पहिरो सडकमा खस्दैन् र दुर्घटना नियन्त्रण गर्छ।’ निर्माण स्थलमा एक सय ५० जना मजदुरले २४ सै घण्टा काम गरिरहेका छन्। तत्कालीन अर्थमन्त्री एवं रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले निरन्तर जोडबलका कारण सुरुङ मार्ग निर्माणको थालनी भएको बुटवलका नागरिकहरू बताउँछन्। 

सुरुङ मार्ग निर्माण भएपछि सडक दुर्घटनालाई कमी गर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले आशा व्यक्त गर्नुभयो। ‘गाडीकै लाइटको प्रकाशले चालकले सवारी चलाउनुपर्ने बाध्यता छ’, खत्रीले भन्नुभयो, ‘सुरुङ मार्गमा सडक बत्ती हुन्छ। व्यवस्थित हुने भएकाले ट्राफिक परिचालन पनि गर्नुपर्दैन।’ उहाँले विकसित देशहरूमा सयौं किलोमिटर सुरुङ मार्ग निर्माण गर्ने भएकाले सडक सुरक्षा धेरै बलियो हुने देखिएको बताउनुभयो। बुटवल–पाल्पा सडक खण्डमा बुटवल, भैरहवा क्षेत्रका सिमेन्ट उद्योगहरूमा जाने टिपरहरूको बाक्लो ओहोरदोहोर हुने भएकाले सडकबत्ती जडानका लागि पहल गर्न सम्बन्धित निकायलाई उहाँले आग्रहसमेत गर्नुभयो।