काठमाडौँ तराई जोड्ने द्रुतमार्गका ३ वटै ठेक्का चिनियाँ कम्पनीलाई
2024-03-22 16:09:58cri
Share with:

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई द्रुतमार्गका दुईवटा प्याकेजका तीनवटा ठेक्काको निर्माण कार्य चिनियाँ कम्पनीले गर्ने भएका छन्। उच्च अदालत पाटनमा ती ठेक्काविरुद्ध परेका रिट खारेज भएपछि खुलाइएको बोलपत्रअनुसार ८ ‘क’, ९ ‘क’ र ‘ख’को निर्माणको बाटो खुलेको हो। बुधबार खोलिएको बोलपत्रमा कम रकम प्रस्ताव गरेका चिनियाँ कम्पनीले ठेक्का पाएका नेपाल खबर अनलाइनले लेखेको छ। 

यसअनुसार ८ ‘क’मा ६ अर्ब ४४ करोड कबोल गर्ने लंगचियान–भीमेश्वर जेभीले ठेक्का पाएको छ। त्यसैगरी ९ ‘क’ प्याकेजको ठेक्का ९ अर्ब ३२ करोड कबोल गर्ने चिआङ्सी–हनुमान बानियाँले पाएको छ।

एक्ससीजीसी हनुमान बानियाँ जेभीले प्याकेज ९ कै ‘ख’को निर्माण ठेक्का पाएको छ। यसका लागि कम्पनीले ७ अर्ब ६४ करोड रुपैयाँ कबोल गरेको छ। 

यसअघि अदालतमा उजुरीपछि यी तीन प्याकेजको काम रोकिएको थियो।

गौरी पार्वती निर्माण सेवा प्रालि, इर्कोन इन्टरनेशनललगायतले अदातलमा उजुरी गरेका थिए। गत सोमबार उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले गौरी पार्वती निर्माण सेवा प्रालि, इर्कोन इन्टरनेशनललगायतले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको थियो। 

यो रिटलाई उच्च अदालत पाटनले अग्राधिकार दिएको थियो। गौरी पार्वतीले पुस ५ मा, इर्कोनले माघ २१ मा रिट दायर गरेका थिए। उनीहरुले हाल आयोजना निर्माण गरिरहेको नेपाली सेनाको कार्यालयसहित विभिन्न सार्वजनिक निकायविरुद्ध रिट दायर गरेका थिए।